काठमाडौं । सुनको थप अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गर्ने भएको छ।
राजश्व अनुसन्धान विभागले समातेको तस्करीको १०० किलो सुनको अनुसन्धान अब सिआबीलाई जिम्मा दिइएको हो । प्रधानमन्त्री कार्यालय मातहतको राजश्व अनुसन्धान विभागले गर्दै आएकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिआइबीलाई दिन इच्छुक भएका हुन् ।
राजश्व अनुसन्धान विभागले सुनको अनुसन्धान तार्किक निष्कर्शमा पुर्याउन नसक्ने भन्दै आलोचना भएपछि दाहालले थप अनुसन्धान गर्ने जिम्मा सीआईबीलाई दिएका हुन् । सुरुमा सुनको अनुसन्धान गर्न प्रहरीलाई दिनेबारे आनाकानी गरेका प्रधानमन्त्री दाहाल दबाबमा परेपछि दिन वाध्य भएका हुन् ।
गृहमन्त्री श्रेष्ठ प्रधानमन्त्री दाहाललाई भेट्न बिहान प्रधानमन्त्री निवास बालुवाटार गएका थिए। भेटमा गृहमन्त्री श्रेष्ठले सुनको अनुसन्धानको जिम्मा सीआईबीलाई दिनुपर्ने फेरि अडान राखेपछि प्रधानमन्त्री दाहाल सहमत भएका हुन्।
उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुनको अनुसन्धान प्रक्रियामा प्रहरीलाई पनि सामेल गराउनुपर्ने अडान राख्दै आएका थिए ।
बिहीबार प्रधानमन्त्री कार्यालय सिंहदरवारमा सुन अनुसन्धानको विषय गम्भीर छलफल भएको थियो। प्रधानमन्त्री दाहाल,गृहमन्त्री श्रेष्ठ,राजश्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगाना, प्रहरी महानिरीक्षक वसन्त कुँवर र सीआईबी प्रमुख किरण बज्रचार्यले गहन छलफल गरेका थिए ।
बैठकमा गृहमन्त्री श्रेष्ठले सुन तस्करीको अनुसन्धान गर्न सीआईबीलाई दिन प्रधानमन्त्रीसँग आग्रह गरेका थिए। तर, प्रधानमन्त्रीले राजश्व अनुसन्धान विभागले नै अनुसन्धान गर्ने भनेपछि उनीहरूबीच केहीबेर सवालजवाफ भएको थियो।
साउन ३ गते भन्सार जाँच पास भएर बाहिरिएको १ क्वीन्टल सुन राजश्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो। बरामद सुन जोख्न नेपाल राष्ट्र बैंकको टक्सार महाशाखा लगिएको थियो। अहिलेसम्म सुनको परिणाम जोखिएको छैन। सुन हङहङबाट क्याथे प्यासिफिकको कार्गोबाट ब्रेकसुको नाममा भित्रिएको देखिएको छ ।
सुन प्रकरणमा हालसम्म १८ जना पक्राउ परिसकेका छन्।