काठमाडौँ । सरकारद्धारा प्रस्तावित ६ राजदूतमध्ये तीन जनाको संसदीय सुनुवाइ पूरा भएको छ ।
संघीय संसद्, सार्वजनिक सुनुवाइ समितिको बुधबारको बैठकले न्यूयोर्कस्थित नेपाली स्थायी नियोग, स्वीट्जरल्यान्ड र फ्रान्सका लागि प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सकेको छ ।
न्यूयोर्कका लागि प्रस्तावित राजदूत लोकबहादुर थापा, स्वीट्जरल्यान्डका लागि रामप्रसाद सुवेदी र फ्रान्सका लागि प्रस्तावित राजदूत सुधीर भट्टराईले योग्यता, अनुभव, अवधारणा र कार्ययोजना प्रस्तुत गरे ।
खटाएको क्षेत्र र मुलुकमा उच्चस्तरीय भ्रमण आदानप्रदान गराउने, दुई देशबीचको सम्बन्ध थप सुदृढ तुल्याउन हरसम्भव प्रयत्न गर्ने, आर्थिक कूटनीतिमा जोड दिने, वैदेशिक लगानी भित्र्याउन पहल गर्ने तथा वैदेशिक सहयोग प्राप्त गर्ने विषयलाई उच्च प्राथमिकतामा राख्ने जनाइएको छ ।
यसअघि समिति सदस्यहरूले प्रस्तावित राजदूतलाई मुलुकको प्रतिनिधिका रूपमा काम गर्ने जिम्मेवारी भएकाले देश र नेपाली नागरिकको हितमा गर्व गर्ने ढङ्गबाट कार्यसम्पादन गर्न सुझाव दिए । प्राकृतिक सम्पदालगायत राष्ट्रिय धरोहरको प्रचारप्रसार तथा परम्परागतबाहेक नयाँ उपलब्धि देखिने गरी काम गर्न जोड दिइएको छ।
सरकारले परराष्ट्र सेवामा रहेका वरिष्ठ सहसचिवलाई विभिन्न कूटनीतिक नियोग र मुलुकमा राजदूतका लागि प्रस्ताव गरी संसदीय सुनुवाइका लागि समितिसमक्ष पठाएको थियो ।
समितिले बिहीबार प्रस्तावित राजदूत घनश्याम लम्साल (कुवेत), तेजबहादुर क्षेत्री (संयुक्त अरब इमिरेट्स) र धनबहादुर ओली (थाइल्यान्ड)को संसदीय सुनुवाइ गर्ने तय भएको छ ।