संयुक्त राष्ट्रसंघसँगको सहकार्यलाई प्रभावकारी बनाउने प्रतिवद्धता

काठमाडौं । संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोगका राजदूतका लागि सिफारिस लोकबहादुर थापाले संयुक्त राष्ट्रसंघसँगको सहकार्यलाई प्रभावकारी बनाउने प्रतिवद्धता जनाएका छन् ।

संघीय संसदको ससदीय सुनुवाइ समितिमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिँदै उनले राष्ट्रसंघका महासचिवलगायत उच्च अधिकारीको नेपाल भ्रमणका लागि पहल गर्ने र नेपालबाट जाने प्रतिनिधिमण्डलको साइडलाइन भेट गराउने जनाए।

राजदूतमा अनुमोदित भएमा युनसंगको इङ्गेजमेन्टलाई प्रभावकारी बनाउन पहल गर्ने उनले विश्वास दिलाए । बहुपक्षीय कुटनीतिलाई विस्तार गर्न पहल गर्ने उनको भनाइ छ। परराष्ट्र नीतिका उद्देश्य पूर्ति गर्ने र मुद्दा मिल्ने देशसँग सहकार्य अगाडि बढाउने उनले जनाए ।

विश्वमा देखिएका समस्या समाधानका लागि उच्च स्तरीय छलफलमा भाग लिने उनको भनाइ छ । नेपाल र राष्ट्रसंघको सहकार्यलाई अझै निकट बनाउन उच्च तहका बैठक, सम्मेलन र सहभागिता बढाउने उनको भनाइ छ ।

नेपालजस्ता देशले स्वार्थ जोगाउन बहुपक्षीय मञ्च राष्ट्रसंघलाई बलियो बनाएर लैजानुपर्ने भन्दै उनले राष्ट्रसंघको साझेदारीबाट आर्थिक उपार्जन गर्नुपर्ने जोड दिए ।
जलबायु परिवर्तनको मार नेपालले खेपिरहेको उनले बताए ।

‘भुटान जस्तो देशले समेत कोपमा आफ्ना एजेन्डा उठाएको छ, उनले भने, हामी पनि अन्तर्राष्ट्रिय फोरममा जलवायु परिवर्तन र त्यसले नेपाल प्रभावित भएको विषय उठाउन सक्छौं ।

सेयर गर्नुहोस्