घरेलु श्रमिक : ८० प्रतिशत गैरकानुनी बाटोबाट

काठमाडौं । खाडी मुलुक जाने मध्ये ८० प्रतिशत घरेलु श्रमिक गैरकानुनी बाटोबाट जाने गरेका छन् ।

घरेलु श्रमिकमा विभिन्न मुलुकमा पठाउन सरकारले अवरोध गरेपछि श्रमिकहरु गैरकानुनी बाटोबाट पुगेको अध्ययनले देखाएको छ ।

आप्रवासी महिला कामदार समुह (आमकास नेपाल) को अध्ययन अनुसार सरकारले बाटो बन्द गरेपछि अवैध बाटोबाट जाने गरेको पाइएको हो ।

आमकास नेपालले उद्धार गरेका तथा आश्रय सेवा दिएका ७३ जना मध्ये ६० जना (८२ प्रतिशत) गैरकानूनी बाटोबाट गएका थिए । घरेलु श्रमिकका रुपमा खाडीमा जान सरकारले २०७३ सालदेखि बन्देज लगाउँदै आएको छ ।

बन्देजले महिला श्रमिकलाई समस्यामा पारेको, अनियमित बाटो भएर जान बाध्य पारेको र यसले जोखिमलाई अझ बढाएको जानकारहरु बताउँछन् ।

संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले २०७७ असोज १३ गते विभिन्न ७ वटा शर्त पूरा भएमा वैदेशिक रोजगारीमा घरेलु कामदार पठाउनु भन्दै सरकारलाई निर्देशन दिए पनि कार्यान्वयन हुन सकेको छैन ।

सेयर गर्नुहोस्