प्रतिबद्धता बढ्यो, लगानी बढेन

काठमाडौं । नेपालमा लगानीका लागि प्रतिबद्धता बढेको छ । तर, वास्तविक लगानी भने हुन सकेको छैन । चाहेर पनि विभिन्न कारणले लगानी गर्न नसकिएको लगानीकर्ताहरु अनुभव सुनाउँछन् ।

उद्योग विभागका अनुसार चालु आर्थिक वर्ष २०८०र८१ को ११ महिनामा सवा दुई खर्ब रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ । ३८३ वटा उद्योग दर्ता भएका छन् ।

त्यसमध्ये ४९ वटा ठूला उद्योग, ५० वटा मझौला उद्योग र २८४ वटा साना उद्योग दर्ता भएका छन् । ती उद्योगमा २ खर्ब १७ अर्ब रुपैयाँ बराबरको लगानी प्रतिबद्धता भएको छ ।

विभागका अनुसार जेठ महिनामा ५९ वटा उद्योगमा ३७ अर्ब २० करोड रुपैयाँको प्रतिबद्धता आएको छ । वैशाखमा गरिएको लगानी सम्मेलन पश्चात जेठ महिनामा मात्र ९ ठूला उद्योग दर्ता भएका छन्।

प्रत्यक्ष वैदेशिक लगानीतर्फ यस वर्ष कुल ३५५ लगानीको प्रस्ताव स्वीकृत भएको विभागले जनाएको छ । यस अवधिमा ४४ अर्ब ३४ करोड रुपैयाँको लगानी प्रतिबद्धता भएको छ । जेठ महिनामा मात्र ३ अर्ब रुपैयाँको लगानी प्रतिबद्धता आएको छ । यस वर्ष कुल ३८ अर्ब रुपैयाँ बराबरको वैदेशिक लगानी भित्रने अनुमान सरकारले गरेको थियो ।

तर, प्रतिबद्धता अनुसार लगानी भित्रन सकेको छैन । राष्ट बैंकको तथ्यांक अनुसार प्रतिबद्धताको ३८ प्रतिशत पनि लगानी आउन सकेको छैन । कम्पनीले २६ हजार २७ जनालाई रोजगारी दिने प्रतिबद्धता जनाए पनि रोजगारीको संख्या न्यून छ ।

वैदेशिक लगानीका उद्योगले १७ हजार ६४२ जनालाई रोजगारी दिने प्रतिबद्धता गरेका छन्।

विभागका अनुसार २ वटा प्याटेन्ट दर्ता भएका छन् । ११ वटा डिजाइन दर्ता भएका छन् । ५ हजार ४९४ वटा ट्रेडमार्क दर्ता भएका छन् ।

सेयर गर्नुहोस्