नयाँ आप्रवासी प्रतिबन्ध नीतिले रोजगातदाताको मनोमानी रोकिने

लिस्बन ।  नयाँ आप्रवासी नीतिले पोर्चुगलका रोजगारदाताको मनोमानी रोकिने देखिएको छ । दैनिक दुई हजार भन्दा बढी आप्रवासी दैनिक भित्रिने गरेकोमा जुन ३ देखि आएका आप्रवासी पोर्चुगलको सिष्टममा जोडिन पाएका छैनन् ।

नयाँ आप्रवासी प्रतिबन्ध नीतिले यहाँका रोजगारदातालाई पनि झस्काएको छ । पहिला जस्तो सजिलै श्रमिक पाउन सक्ने स्थिति छैन । बिना कारण कामबाट निकालिने, लामो समयसम्म काम गर्दा पनि कन्ट्राक नदिने, समयमा पारिश्रमिक नदिने, कामको कुनै सुरक्षा नहुने समस्या छ ।

यहाँका रोजगारदाताले आइएलओको नियम पालना गरेका छैनन् । पोर्चुगलकै श्रम कानुन पनि पालना नगरेको पाइएको छ । पोर्चुगलमा विदेशी लगानी पनि बढ्दै गएको छ । अन्य देशका मुलुकले पनि लगानी बढाएका छन् । तर, रोजगारदातापिच्छेले यहाँको नियम भन्दा पनि आफ्नै ढंगले श्रमिकलाई काममा लगाउँदै आएका छन् ।

अब, समय फेरिएको छ । यहाँको सरकारले आप्रवासी उल्लेख्य बढेको, रोजगारी सिर्जना गर्न नसकिएको, पेन्डिङ फाइलको चाप बढ्दै गएको भन्दै आप्रवासी नीतिमा कडाइ गरेको हो । तत्काल नयाँ आप्रवासी आउन सक्ने स्थिति देखिएको छैन । किनभने आप्रवासी भित्रिने अनुपातमा यहाँ रोजगारी सिर्जना हुन सकेको छैन । जसले गर्दा रोजगारदाताको मनोमानी बढेको थियो ।

अब पोर्चुगल सरकारले यहाँको रोजगारदाता कम्पनीमाथि निगरानी बढाउने छ । नियमानुसार श्रमिक नराख्ने, तोकिएको पारिश्रमिक नदिने, नियमविपरित कामबाट निकाल्ने प्रवृतिलाई रोक्न सरकारले चासो दिने भएको छ ।
यसो हुन सके पोर्चुगलको रोजगारी आकर्षक र व्यवस्थित बन्ने छ । भर्ना गर्ने प्रक्रिया र सुरक्षा स्पष्ट, पारदर्शी र भरपर्दो हुने छ । रोजगारदाताले छनोट गरेर नै श्रमिक राख्न पाउने छन् । र नियमानुसार सेवा सुविधा दिने छन् ।

यहाँ कोही व्यक्ति ढुक्क भएर काममा टिक्न सक्ने वातावरण छैन । रोजगारदाताले कुनै बाहना बनाएर निकाल्ने प्रवृति हावी छ । उता आकर्षक सेवासुविधा नभएको,रोजगारदाताको व्यवहार राम्रो नभएको भन्दै श्रमिक पनि लामो समय एउटै कम्पनीमा काम गर्न रुचाउँदैनन् ।

रोजगारदातामा न्यूनतम सेवा सुविधा नदिएर सस्तोमा नयाँ मान्छेलाई काम गराएर लाभ लिन खोज्ने प्रवृति पनि बढ्दै गएकोमा अब त्यो रोकिने निश्चित जस्तै भएको छ । बेरोजगारको भयावह स्थितिका कारण यहाँको सरकारले नयाँ आप्रवासीलाई रोकेको हो ।

पोर्चुगल एसियन तथा अफ्रिकन मुलुकका आप्रवासीहरुको आकर्षक गन्तव्य मुलुक बनेको छ । केही वर्ष यहाँको नियामानुसार काम गरेर आवसीय तथा स्थायी बसोबास कार्ड पाइने भएकाले आप्रवासीको ओइरो लाग्ने गरेको थियो । तर, सरकारको नयाँ व्यवस्थाले यहाँ आउन चाहने आप्रवासीलाई धक्का लागेको छ ।

माल्टा, क्रोयसिया, साइप्रस, टर्की लगायतको भिसा लगाएर पोर्चुगल गन्तव्य बनाउने आप्रवासी बढ्दै गएका थिएँ । पोर्चुगलमा सहजै कार्ड बन्ने भएकाले धेरैको सपना पोर्चुगल थियो । ती मुलुकमा आकर्षक पारिश्रमिक हुँदाहुँदै पनि कार्ड सपनाले पोर्चुगलमा आप्रवासीको चाप थियो ।

पोर्चुगलमा १० लाख आप्रवासी छन् । चार लाख आप्रवासीको कागजात बन्न बाँकी छ । नयाँ व्यवस्थासँगै पोर्चुगलले श्रमिक व्यवस्थापन गर्न समय पाउने छ । यहाँको श्रम कानुन, आइएलओको प्रावधान अनुसार रोजगारदाता तथा श्रमिकको व्यवस्थापन गर्न पाउने श्रमविज्ञहरु बताउँछन् ।

पोर्चुगलले आफै भिसा नदिए पनि विभिन्न भिसामा आएकालाई स्वागत गर्दै आएको थियो । अब आफै श्रमिक छनोट गरेर ल्याउने तयारी समेत गरेको छ । स्रोतमुलुकबाटै श्रमिक ल्याउन सक्ने भएकाले यहाँका रोजगारदाता पनि जिम्मेवार बन्न पाउने छन् । विभिन्न देशसँग श्रम सम्झौता गरेर यहाँका रोजगारदाता कम्पनीले नै छानेर विभिन्न देशबाट श्रमिक ल्याउन सक्ने बाटो खुला गर्ने तयारीमा सरकार लागेको छ ।

सन् २०१८ अघि ५ लाख विदेशी यहाँ कार्यरत थिए । तर, अहिले आप्रवासी दोब्बर भन्दा बढी भइसकेका छन् । पोर्चुगलले २००७ देखि आय घोषणा गर्ने विदेशीलाई सजिलै काजागत दिन सुरु गरेको थियो । २०१८ को सरकारले अवैधरुपमा आएकालाई पनि कागजात दिने नीति लिएसँगै आप्रवासीको ओइरो लागेको हो । २०२२ यता त काम खोज्नका लागि ६ महिनाको भिसा समेत पाउने सहज नीति ल्याएको छ ।

एसियन र अफ्रिकन मात्रै होइन, यूरोपका अन्य देशका मानिस पनि यहाँ आएर काम गर्छन् । यहाा सबैभन्दा धेरै ब्राजिलियन काम गर्छन् । उनीहरुको भाषा पनि मिल्ने भएकाले धेरै जसो रोजगारदाताहरुले ब्राजिलिय रोज्छन् । अंगोला, भारतीय, पाकिस्तानी, बंगलादेशी, नेपालीहरु यहाँ काम गर्दै आएका छन् ।

विभिन्न सेन्जेन देशको भिसा लगाएर यहाँ आउने क्रम बढ्दो थियो । त्यस्तै गैर सेन्जेनबाट अवैधरुपमा पनि आउनेहरु थिए । जुन ३ देखि प्रतिबन्ध लागेपछि कतिपय श्रमिक त बाटोमै अलपत्र परेका छन् ।

आप्रवासीको तुलनामा यहाँ रोजगारी पाउन कठिन छ । पोर्चुगलमा उद्योग, कलकारखाना खुल्ने दर न्यून छ । रेष्टुरेन्ट लगायत सेवा क्षेत्र र कृषिमा केही रोजगारी सिर्जना भए पनि पर्याप्त मात्रामा नहुँदा महिनौंसम्म बेरोजगार बस्नुपर्ने वाध्यता छ । सीमित रोजगारीका अवसरका कारण यो मुलुकले सबै आप्रवासीलाई रोजगारी दिन नसकेको जानकारहरु बताउँछन् ।

सेवामुलक क्षेत्र र कृषि क्षेत्रमा धेरै आप्रवासीहरु छन् । धेरै आप्रवासी भित्रिएि सँगै रोजगारदातालाई फाइदा पुगेको थियो । उनीहरुले छानीछानि कामदार राख्दै आएका थिए । श्रमिक मन नपरेमा, नियमाअनुसार सेवासुविधा दिन भनेमा तुरुन्त हटाएर फेरि सस्तो श्रमिक लिने विकृति पनि बढ्दै गएको कतिपय श्रमिकहरु अनुभव सुनाउँछन् ।

यहाँ रोजगारी सिर्जना न्यून मात्रामा भएकाले अदल बदल भने व्यापक हुने गरेको थियो । एउटाले छोड्दा काम गर्न चाहने सयौं जना हुन्छन् । अब यो रोकिने देखिएको छ । रोजगारदाताले नै श्रमिक टिकाउन आकर्षक सेवासुविधा दिन वाध्य हुनेछन् ।

सेयर गर्नुहोस्