पोर्चुगलमा कुलतमा फस्ने नेपालीहरु दिनप्रतिदिन बढ्दै

लिस्बन । पछिल्लो समयमा पोर्चुगलमा समस्या देखिन थालेको छ । दुव्र्यसनी तथा कुलतमा लागेका नेपालीहरु दिनप्रतिदिन बढ्न थालेका छन् ।  एक तथ्यांक अनुसार पोर्चुगलमा अहिले २ सय जना नेपाली कुलतमा लागेको पाइएको छ ।

उनीहरु ओदिवीलास्, सिनोररोवादो, मार्टेमुनीज, काईसुद्रे, मार्केस पोम्वललगायतका पार्क तथा पुलमुनी बस्ने गरेका छन् । केही भत्केका घरहरुमा समेत बस्ने गरेको पाइएको छ । कुलतसँगै चोरी गर्ने समेत रहेको पाइएको छ ।

नेपालमै लतमा लागेका व्यक्तिलाई जर्वजस्ती पोर्चुगलमा आउँदा झन् समस्यामा पर्ने गरेका छन् । त्यस्ता व्यक्ति यहाँ पनि कुलतमै फस्ने गरेको पाइएको छ । नेपालमा केही महिना सुधार केन्द्रमा बसेर विदेश आएपछि उस्तै अवस्थामा फर्किएको पाइएको छ । यहाँ भनेअनुसार जीवन नहुँदा कुलतमा फस्ने गरेका छन् । रोजगारी, बस्न कोठा समस्या लगायतका कारण पनि कुलतमा फस्ने गरेको पाइएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) का वरिष्ठ उपाध्यक्ष दीपा काफ्लेका अनुसार कुलतमा बसेका २ सय व्यक्तिको पहिचान गरिएको र उनीहरुको उद्धारका लागि पहल भइरहेको बताउनुभयो । यो नेपाली समुदायका लागि चुनौतीको विषय हो, यसलाई हामीले बेलैमा सम्बोधन गर्न सक्नुपर्छ, उहाँले भन्नुभयो ।

आधा भन्दा बढी पहिल्यै नेपालमा पनि कुलतमा लागेर सुधार केन्द्रमा बसेर सुध्रेर यहा आएकाहरु रहेको जानकारहरु बताउँछन् ।

सेयर गर्नुहोस्