काठमाडौं । यूरोप रोजगारी ठगीको धन्दा बन्न पुगेको छ । यूरोपका विभिन्न देशमा रोजगारीमा लैजाने प्रलोभन दिदैँ अधिकांशलाई ठग्ने गरिएको प्रहरीले जनाएको छ ।
स्वदेशमा रोजगारी नहुँदा यूवाहरु वैदेशिक रोजगारीमा जान वाध्य छन् । ५ लाख यूवाहरु श्रमबजारमा आउँदा ४ लाख भन्दा बढी युवाहरु विदेश जान्छन् । देशमा बेरोजगार बढेसँगै प्रहरीमा वैदेशिक रोजगारी ठगीका उजुरीहरु बढ्दो क्रममा छ ।
वैदेशिक रोजगारीमा पठाइदिने नाममा लाखौं रकम असुल्ने गरेको पायएको छ । विदेश नपठाइ ठगी गर्ने क्रम बढेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पोर्चुगल, पोल्याण्ड, रोमानिया, माल्टा, क्रोएसिया, क्यानाडा जस्ता देशमा पठाउने भन्दै व्यक्तिले ठगी हुने गरेको हो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको तथ्यांक अनुसार पछिल्लो तीन वर्षमा मात्र वैदेशिक रोजगारी ठगीका ५१८ वटा उजुरी परेका छन् । १ सय ८६ जना पक्राउ परेका छन् ।
वैदेशिक रोजगार विभागमा पनि ठगिएको उजुरी बढ्दै गएको छ । विभागले दुई पक्षीय छलफल गराएर पीडितलाई क्षतिपूर्ति दिलाउँछ । कतिपय वैदेशिक रोजगार न्यायाधिकरणमा मुद्धा दर्ता हुने गरेको छ ।
पछिल्लो समय नयाँ मुलुकमा पठाउने भन्दै व्यक्तिले ठगी गर्ने क्रम बढेको छ प्रहरीको निष्कर्ष छ । ‘पहिले खाडी मुलुकहरुमा म्यावनपारले ठगेका घटना आउँथे’ अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मी भन्छन्, ‘अहिले युरोपका मुलुक पठाइदिने भन्दै व्यक्तिले गरेका ठगीका घटनाहरु बढेका छन् ।’
नयाँ गन्तव्यमा आकर्षक कमाइ हुने प्रलोभन देखाउने र ठूलो रकम लिने गरेको प्रहरीले ठहर गरेको छ । पूर्वी युरोपका मुलुकहरुमा राम्रो कमाइ हुने लोभ देखाएर १० लाख भन्दा बढी नै माग्ने गरिएको पीडितहरु बताउँछन् ।
उनले भने, ‘पैसा दिनेहरु पनि मागे जति दिन तयार हुन्छन् ।’ ती देशमा जान एकै जनाले १० देखि ३० लाख रुपैयाँसम्म तिर्न तयार भएको पाइएको पनि एसपी रेग्मी बताउँछन् ।
नेपाल वैदेशिक रोजगार व्यवसाय संघका अध्यक्ष राजेन्द्र भण्डारीले अहिले नयाँ गन्तव्यतिर आर्कषण बढेकाले ठगी गर्ने गिरोह पनि सलबलाएको बताउँछन् । ‘सरकारले श्रमका लागि नयाँ गन्तव्यहरुमा बाटो खुला नगर्दा ठगी गर्ने गिरोहले फाइदा लिइरहेको उनको भनाइ छ । ९५ प्रतिशत भन्दा बढी ठगीका घटना वैदेशिक रोजगार व्यवसायी भन्दा बाहिर भएको उनको दावी छ ।