गण्डकी । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस यतिखेर नेपालमा छन् । चार दिने भ्रमणमा रहेका गुटेरेस सोमबार पोखरा पुगेका छन् ।
पर्यटकीय नगरीका रुपमा चिनिने पोखरामा उनको भव्य स्वागत गरिएको छ । पोखरेलीले आत्मीयतापूर्वक स्वागत गरे । नेपाली सेनाको विमानमार्फत उनी दिउँसो पोखरा पुगेका थिए । पूरानो विमानस्थलमा ओर्लेका उनलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहितको टोलीले स्वागत गर्यो ।
मुख्यमन्त्री पाण्डेले सयपत्री फूलको माला र पोखरा महानगरका प्रमुख धनराज आचार्यले ढाकाटोपी पहिराएर महासचिव गुटेरेसलाई स्वागत गरे। उनको स्वागतमा प्रदेश सरकारका मन्त्री, जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुखलगायत उच्चपदस्थ व्यक्तिहरू विमानस्थल पुगेका थिए ।
महासचिव गुटेरेस सयपत्रीको माला र ढाका टोपीमा सजिँदा नेपालीपन झल्केको थियो । खुसी मुद्रामा उनले पोखरेलीको न्यानो स्वागत ग्रहण गरे । शरदयामको घमाइलो दिन भएकाले प्रकृतिले पनि महासचिव गुटेरेसलाई स्वागत गरेको छ । सुन्दर स्थान भएका कारण पोखरामा पर्यटकहरु घुम्न आउँछन् ।
महासचिव गुटेरेसको स्वागतार्थ विमानस्थलको बाहिरपट्टी सांस्कृतिक झाँकीसहित मौलिक नाच प्रस्तुत गरियो । नेवारी समुदायमा प्रचलित तायमचा, जनजाति समुदायको सोरठी, नौमती बाजालगायत मौलिक संस्कृति देखाइएको थियो । परम्परागत वेशभूषामा सजिएका आमा समूह, जनप्रनिधि, पर्यटन व्यवसायीलगायतले महासचिव गुटेरसलाई स्वागत गरे ।
महासचिव गुटेरेस मङ्गलबार बिहान विश्वप्रसिद्ध पर्यटकीय गन्तव्यस्थल अन्नपूर्ण आधार शिविर जाने कार्यक्रम तय भएको छ । त्यहाँ उनले जलवायु परिवर्तनले हिमाली जनजीवनमा पारेको असरबारे स्थानीयवासीसँग अन्तरक्रिया गर्ने गर्नेछन् ।
अन्नपूर्ण आधार शिविरबाट फर्केपछि पोखरा विमास्थलमा पत्रकारसँग साक्षात्कार गर्ने कार्यक्रम तय भएको उनको भनाइ छ । महासचिव गुटेरेसको भ्रमणलाई लक्ष्य गरी पोखराको सुरक्षा प्रबन्ध चुस्त पारिएको छ । उनी लुम्बिनी भ्रमणका लागि मङ्गलबार बिहान पोखराबाट भैरहवा प्रस्थान गर्ने जनाइएको छ ।
अन्नपूर्ण हिमाल र यससँग प्रत्यक्ष जोडिएका पोखरालगायतका गन्तव्यहरूले पर्यटकीय महत्त्व बढाएका छन् ।
सन् १९६० देखि हिप्पी पर्यटकको आगमनले पोखराको पर्यटकीय गतिविधि बढेको बताइन्छ । सन् १९८० को दशकदेखि फस्टाउँदै गएको यहाँको पर्यटनलाई समय समयमा हुने गरेका अतिविशिष्ट व्यक्तिको आगमनले अझगरिमा र महत्व बढ्दै गएको छ ।