काठमाडौं । नेपाल कृषिप्रधान देश हो । ६७ प्रतिशत कृषि क्षेत्रले ओगटेको छ । तर, कृषिमा परनिर्भरता बढ्दै गएको छ ।
झण्डै ३ खर्बको कृषिजन्य वस्तु आयात भइरहेको छ । नेपालका खेतीयोग्य जमिन बाँझो भइरहेको छ । युवाहरु विदेश पलायन भइरहेका छन् । जसले गर्दा उत्पादनमा थप ह्रास आएको छ ।
उता भारतले पनि खाद्यन्न निर्यातमा कडाइ गरेको छ । खाद्यन्न निर्यातमा कडाइ गरेसँगै नेपालमा खाद्यन्न संकट उत्पन्न हुन थालेको छ ।
खाद्यन्न अभाव हुन थालेपछि नेपाल सरकारले भारतसँग खाद्यान्न माग गरेको छ । धान, चामल र चिनी खरिदका लागि भारत सरकारलाई पत्राचार गरेको छ । सरकारले भारतको निर्यात प्रतिबन्धको नीतिका कारण नेपाली बजारमा आपूर्ति प्रभावित हुन सक्ने भन्दै भारत सरकारलाई पत्राचार गरिएको छ।
सरकारले एक लाख टन चामल, ५० हजार टन चिनी र ५ हजार टन धान नेपालमा आपूर्ति गरिदिन भारतलाई पत्राचार गरेको उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयको उच्च स्रोतले जनाएको छ ।
भारतीय दूतावासलाई लेखेको पत्र मंगलबार पुगिसकेको छ । तर, त्यसको जवाफ अझै आइसकेको छैन । भारतले नेपालका लागि निर्यात प्रतिबन्ध लागू नहुने दावी गर्र्दै आएका छन् ।