नेपाल बाहिर एउटा मात्र होइनन मिनी नेपाल धेरै छन जहाँ हुँदा विदेश छु भन्ने अनुभूति हुँदैन । विदेशमा युवाको जमात दिन प्रतिदिन बढ्दै गइरहेको छ । विभिन्न बहानामा देश छाड्ने लर्को बढ्दो क्रममा छ । विदेशमा दुःख गरेर सफलता र आर्थिक समृृद्धि ल्याउने सपना धेरैको देखिन्छ ।
कतिपय मानिसलाई विदेश जानु रहरको विषय हुन सक्छ । सफलता र आर्थिक समृद्धि प्राप्त गरेर उच्चगुणस्तरको जीवन जिउने चाहना हुनु स्वभाविकै हो । तर, अधिकांश मानिसका लागि वैदेशिक रोजगार वाध्यात्माक पनि भएको छ । दैनिक साँझबिहान छाक टार्न पनि मुश्किल पर्ने समुदाय नेपालमा अझै ब्यापक छ ।
विगतमा कालापहाड जाने चलन व्याप्त थियो । कम्तीमा छ महिना कालापहाड गएर कमाउने र घरको गर्जो टार्ने र अन्य समयमा घरमा खेतीकिसानी गर्ने चलन पहिले देखिकै हो । कलापहाड जाने चलन पनि अझै हराएको छैन कतिपय ठाउँमा । तर, अहिले वैदेशिक रोजगार (भारत बाहेकका अन्य देशमा रोजगारीमा जाने चलन उल्लेख्य बढेको छ ।
स्वदेशमा प्रयाप्त रोजगारी सिर्जना हुन नसकेपछि विदेश जानु आम नेपालीको वाध्यता बनेको छ । स्वदेशमा रोजगारी नपाइनु, बेरोजगारी समस्या तथा उद्यम व्यवसाय गर्ने वातावरण नबन्दा विदेशिने सपना लगभग सबै युवाको हुने गर्छ । श्रमबजारमा आउने ५ लाख युवामध्ये केही हजारले मात्रै नेपालमा रोजगारी पाउँछन् ।
तीन चौथाइ भन्दा बढी युवा वैदेशिक रोजगारीमा जान वाध्य छन् । त्यसमध्ये ७५ प्रतिशत भन्दा बढी खाडी मुलुक र मलेसियामा जान वाध्य छन् । उद्योग, कलकारखाना खुलेका छैनन् । जसले गर्दा नेपालमा रोजगारी सिर्जना हुन सकेको छैन । उद्योगमा लगानी प्रस्ताव गरिए पनि यथार्थमा उद्योगीहरु विदेशी सामान बेच्नमै रमाइरहेका छन् । शोरुम खोलेर आयातीत सामान बेच्ने नै उनीहरुको दैनिकी बनेको छ । सरकारले जतिसुकै लगानी वातावरण बनाएको दावी गरेपनि लगानी बढ्न सकेको छैन् । सरकारी तथा निजी क्षेत्रमा पर्याप्त मात्रामा सिर्जना हुन नसक्दा अधिकांशको रोजाइ वाध्यात्मक वैदेशिक रोजगार बन्न पुगेको छ ।
वैदेशिक रोजगार विभागका अनुसार दैनिक १ हजार ५ सय युवाले वैदेशिक रोजगारीका लागि श्रमस्वीकृति लिने गरेका छन् । श्रम स्वीकृति गरेका केही अपवादबाहेक लगभग सबै विदेश जान्छन् । त्यसोतः श्रम स्वीकृति लिएर भन्दा नलिएर विदेश जानेको संख्या पनि उल्लेखनीय रुपमा बढेको छ । शैक्षिकरुपमा पनि वर्षमा लाख बढी विद्यार्थी अर्र्बाै पैसासहित बाहिरिन्छन् । विभिन्न भिषामा विदेश जाने र उतै बस्ने चलन पनि उत्तिकै छ ।
अध्यागमन विभागको दैनिक तथ्यांकलाई नियाल्दा पनि फर्किनेको तुलनामा जानेको संख्या बढी नै देखिन्छ । यद्यपी, सरकारले अझै राम्रोसँग तथ्यांक राख्न सकेको छैन । वैदेशिक रोजगारीमा गएका मानिस कति फर्किए, दोहो¥याएर विदेश कति गए ?, घुम्न गएका कति उतै बसे भन्ने रेकर्ड राख्न सकेको छैन । नेपालको एयरपोर्ट प्रयोग नगरेर पनि कति त अवैधानिक तरिकाबाट गन्तव्य मुलुक पुगेका छन् । ठूलो रिक्स मोलेर तल्लो बाटो (गलत तरिकाबाट) विभिन्न देश हुँदै अमेरिका पुग्नेको पनि कमी छैन ।
यसरी जुनसुकै तरिकाबाट विदेश पुगेका छन् नेपाली । मलेसिया, खाडी मुलुकमात्र होइन, अमेरिका, यूरोप, अष्ट्रेलिया, जापान, कोरिया लगायत लगभग सबै देशमा नेपाली पुगेका छन् । धेरेजसो अहिलेको नयाँ पुस्ताको सपना विदेश जानु नै बनेको छ । यो वाध्यता पनि हो । वाध्यताभित्रको रहर पनि हो ।
जनघनत्वको हिसाब गर्दा कुनै देशमा थोरै, कुनै देशमा धेरै पुगेपनि नेपाली लगभग सबै देशमा पुगेका छन् । जसले गर्दा भन्न सकिन्छ कि विश्वमा छरिएर रहेका उर्जाशील नेपालीको जमातले नेपाल किन बनेन् र नेपाल भन्दा पनि कमजोर देश कसरी बन्यो भन्ने राम्रोसँग बुझेको छ । नेपाल बनाउन पौरख चाहिन्छ । स्पष्ट भिजन चाहिन्छ । स्रोतसाधान चाहिन्छ ।
त्यसकारण देश नबन्नुको दोष नेता तथा राज्यसत्ताको मात्र होइन, सिंगो नेपाली समुदाय पनि जिम्मेवारी छ । मुख्य कुरा त नेपालको भुगोल, संरचना र राज्य सञ्चालकमा दूरदर्शिताको अभाव, स्रोतसाधनको अभावलगायत विभिन्न कारणले स्वेदशमा रोजगारी सिर्जना हुन नसकेको यथार्थता हो ।
खासगरी २०६३/६४ पछिका सरकारले देश बनाउन कुनै ठोस योजना ल्याउन सकेनन् । रोजगारी सिर्जना गरेर युवालाई विदेश पलायन हुनबाट रोक्न उपललब्धिमूलक कार्यक्रम ल्याउन नसकेको सर्वविदितै छ । दलहरुको घोषणापत्र, सररकाका नीति तथा कार्यक्रम, रोजगार नीति र सरकारका पञ्चवर्षीय योजनाहरु कार्यान्वयन फितलो भयो । जसले गर्दा युवाहरु स्वदेशमै अट्न सकेनन् । विदेश पलायन हुन वाध्य भए ।
देश शान्तिप्रक्रियामा गएदेखि दैनिक हातमुख जोड्नकै लागि भारतको कालापहाड, खाडीमलुक र मलेसिया जानेको संख्या झनै बढ्दै गयो । यसका साथै केही कमाउने र उच्च गुणस्तरको जीवन जिउने सोचका साथ विद्यार्थी भिसा तथा भिजिट भिसामा विदेश पुग्नेको जमात पछिल्ला वर्षमा ह्वात्तै बढेको छ ।
कतिपय अवस्थामा पैसा कमाउन मात्र मान्छे विदेश जाँदैन । केही वर्ष दुःख गरेर जीवनको भाग्य खुल्छ भने दुःख गर्नैपर्छ । खासगरी पोर्चुगल जाने मान्छेको सपना भनेको कार्डकै लागि हो । पोर्चुगल कार्डका लागि आउने लगभग ९० प्रतिशत छन् । उनीहरुको गन्तव्य यहाँको नागरिकता पाएपछि राहदानी लिने र राम्रो कमाइ गर्नका लागि विदेश हानिन्छन् । १० प्रतिशत मानिस भने यहाँ उत्कृष्ट व्यवसायी बनेर आर्थिक छलाङ मारेका छन् ।
खासगरी श्रम गर्ने र श्रममै रमाउने व्यक्तिका लागि वैदेशिक रोजगारी दैनिक जीवनमा सहजता ल्याउनका लागि उत्कृष्ट अवसर भएको छ । वैदेशिक रोजगारी आम नेपालीका लागि वाध्यता नै हो । कतिपयलाई वाध्यताभित्रको रहर पनि हो । पूर्णरुपमा रहर पालेर विदेश पस्नेहरु पनि पछिल्ला वर्षहरुमा बढ्दै गएको पनि यथार्थ हो । स्वदेशमै उद्यम तथा रोजगारी गरी आर्थिक रुपान्तरण गर्न सक्ने वातावरण बने वैदेशिक रोजगारीको लहरमा कमी आउने निश्चित छ । पूर्णरुपमा वैदेशिक रोजगारी त बन्द हुँदैन पनि ।