मौद्रिक नीति : विदेश भ्रमण जाँदा डलर सटहीमा सहजता (पूर्णपाठसहित)

काठमाडौं । विदेश भ्रमणमा आउने नेपालीले अब सहजैरुपमा डलर सटही सुविधा पाउने भएका छन् ।

नेपाल राष्ट् बैंकले आर्थिक वर्ष २०८०।८१ को मौद्रिक नीति सार्वजनिक गर्दै विदेश भ्रमण गर्दा डलर सटहीमा सहुलियत दिएको हो । विदेश भ्रमणमा जाने नेपालीले अब २५ सयसम्म डलर सुविधा पाउने छन् ।  एक वर्षमा दुई पल्ट १५ सय अमेरिकी डलर सटहीको सुविधा पाउँदै आएकोमा अब यसलाई बढाएर २५ सय बनाइएको हो ।

त्यस्तै सेयर तथा घरजग्गा कर्जा खुकुलो हुने मौद्रिक नीतिमा उल्लेख छ। सेयर धितो कर्जा, रियल स्टेट कर्जा तथा हायर पर्चेज कर्जाका विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गर्न राष्ट बैंक तयार भएको छ ।

पहिलो आवासीय घर कर्जाको सीमा १ करोड ५० लाखलाई वृद्धि गरी २ करोड पुर्‍याइने जनाइएको छ । वित्तीय क्षेत्रको स्थायित्वलाई असर पुर्‍याउने गैर–व्यावसायिक तथा उच्छृङ्खल गतिविधिलाई नियन्त्रण गर्न बैकिङ्ग कसुर ऐन २०६४ समसामयिक संशोधन प्रक्रिया अगाडि बढाइने राष्ट्र बैंकले जनाएको छ।

बचत तथा ऋण सहकारी संस्थाको प्रभावकारी नियमन तथा सुपरिवेक्षणका लागि छुट्टै विशिष्टिकृत नियामक निकाय स्थापना गर्न सहजीकरण गर्ने उल्लेख छ।

खुकुलो मौद्रिक नीतिले सेयर, घरजग्गा तथा सहकारी कर्जाको सहज उपलब्धता हुने छ । ब्याजदर पनि घट्ने देखिएको छ ।

चालुपुँजी कर्जासम्बन्धी मार्गदर्शन पुनरावलोकन हुने भएको छ । वाणिज्य बैंकहरुको सम्पत्तिको गुणस्तर पुनःमूल्याङ्कन गर्नुको साथै बैंक तथा वित्तीय संस्थाको आन्तरिक कर्जा जोखिम वर्गीकरण गर्नेसम्बन्धी मार्गदर्शन तर्जुमा गर्ने तयारी छ ।

हेर्नुहोस्, मौद्रिक नीतिको पूर्णपाठ

 

सेयर गर्नुहोस्