पाण्डव शर्मा
वैदेशिक रोजगारीले अर्थतन्त्रमा सहजता ल्याए पनि धेरै विचलन ल्याएको छ । अर्थतन्त्रमा एक चौथाइ योगदान गर्न सके पनि यसले समाजमा पारेको प्रभाव र विचलनलाई पनि कम आँकन गर्न सकिदैैन ।
वैदेशिक रोजगार बढ्दै गएपछि बसाइसराइ पनि बढ्दै गइरहेको छ । जसले गर्दा शहर भरिने र गाउँ रित्तिने क्रम बढेको छ । शिक्षा, स्वास्थ्यलगायतका सुविधाका नाममा दिनहुँ गाउँ रित्तिरहेका छन् ।
बच्चा पाउने उमेर समुहका धेरै युवायुवतिहरु विदेश पलायन भइरहेका छन् । स्वदेशमा पनि बच्च उत्पादनको दर घटेको छ । पछिल्लो जनगणना अनुसार पनि नेपालमा जन्मदर घटेको देखिन्छ ।
नेपालमा स्वदेशमै पर्याप्त रोजगारीको अवसर नहुँदा वर्षेनी लाखौं युवा रोजगारीका लागि विदेश जाने गरेका छन् । नेपालबाट प्रत्येक दिन लगभग १ हजार ५ सय व्यक्तिहरू वैदेशिक रोजगारीमा जाने गर्छन् । नेपालमा ६० प्रतिशत भन्दा बढी घरपरिवारमा कम्तीमा एक जना सदस्य वैदेशिक रोजगारीमा छन् ।
हुन त वैदेशिक रोजगारले विकासोन्मुख र अल्पविकसित दुवै देशका लागि विदेशी मुद्रा आर्जनको प्रमुख स्रोतको रूपमा काम गर्दछ । नेपालमा रेमिट्यान्सले देशको कुल गार्हस्थ्य उत्पादनमा करिब एक चौथाइ योगदान पु¥याएको छ । यद्यपि, यो प्रवृत्तिले नेपालको जनसांख्यिकीय अवस्थामा निकै चुनौति खडा गरेको छ ।
१८ वर्ष देखि ४४ वर्ष उमेर समूहका यी व्यक्तिहरूले देशभित्रको आफ्नो क्षमताको सदुपयोग गर्नुको सट्टा आफ्नो ऊर्जा, श्रम र समय विदेशमा खर्च गरिरहेका छन् ।
वैदेशिक रोजगारीको खराब नतिजाहरु क्रमशं देखिन थालेको छ । नेपाल यही गतिमा अघि बढ्ने हो भने भविष्यमा बृद्घाश्रम बन्ने खतरा छ । यसबाहेक वैदेशिक रोजगारीले पारिवारिक कलह, विखण्डन, अनैतिक सम्बन्ध, सम्बन्धविच्छेद, बहुविवाह र अन्य विभिन्न सामाजिक विकृतिजस्ता समस्याहरू जन्माएको छ । फलस्वरूप, युवाहरूले राम्रो आर्थिक अवसरहरू विदेशमा खोज्दै गर्दा गाउँहरू वृद्धहरु मात्रै हुने खतरा छ ।
जनसंख्याको असन्तुलित वितरणको अर्को परिणाम भनेको उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीहरूको संख्या बढ्दै जानु हो । गुणस्तरीय शिक्षाको खोजी गर्नु स्वभाविक पनि हो । तर, विद्यार्थीहरूको पलायनले नेपाल भित्र ज्ञान हस्तान्तरण र बौद्धिक पुँजीको सम्भावनालाई सीमित पारेको छ । यस समस्यालाई सम्बोधन गर्नका लागि गुणस्तरीय शिक्षा र अनुसन्धानका अवसरहरू स्वदेशमै उपलब्ध गराउनु पर्छ । साथै प्रतिभाशाली विद्यार्थीहरूलाई देशको विकासमा योगदान पु¥याउन उत्प्रेरित गर्नुपर्छ ।
उत्पादनशील जनशक्तिको ठूलो हिस्सा रोजगारीका लागि विदेश पलायन हुँदा देशको विकासमा बहुआयामिक असर परेको छ । रेमिट्यान्सले अस्थायी आर्थिक राहत प्रदान गरे पनि दीर्घकालीन परिणामहरू हानिकारक छ । दक्ष जनशक्तिको अभावमा मुलुकमा विकास निर्माणमा समस्या पारेको छ ।
नेपालमा जनसंख्याको असमान वितरण र बढ्दो विदेश पलायनले भविष्यमा ठूलो खतरा उत्पन्न गर्ने देखिन्छ । यसका लागि पहाड तथा हिमालमा एकीकृत बस्ति विकासमा जोड दिनैपर्छ । मध्यपहाडी लोकमार्गमा पर्ने विभिन्न १० स्थानमा आधुनिक शहर निर्माण गर्ने योजना बनाएको धेरै भइसक्यो । तर, सरकारले पर्याप्त बजेट विनियोजन गर्न नसक्दा ती शहरहरु अलपत्र परिरहेका छन् । सरकारले यसतर्फ ध्यान दिनैपर्छ । त्यसैगरी युवाहरुलाई स्वदेशमै बस्ने वातावरण निर्माण गर्नु अहिलेको प्रमुख आवश्यकता हो ।