जी २० सम्मेलनमा सी चिनफिङ सहभागी नहुने

चीन । ‘जी २०’को १८औँ शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सी चिनफिङ सहभागी नहुने भएका छन् । विश्वका विशाल अर्थतन्त्र भएका १९ देश र युरोपेली संघ मिलेर बनेको अन्तरसरकारी मञ्च ‘जी २०’ शिखर सम्मेनमा चिनियाँ राष्ट्रपति नजाने भएका हुन् ।

भदौ २३ र २४ मा भारतको राजधानी नयाँ दिल्लीमा हुने उक्त कार्यक्रममा प्रधानमन्त्री ली छ्याङ सहभागी हुने छन् ।

मन्त्रालयका प्रवक्ता माओ निङले राष्ट्रपतिको सट्टा प्रधानमन्त्रीले शिखर बैठकमा भाग लिने बताए । प्रवक्ता निङले आर्थिक सहयोगको लागि ‘जी २०’ सम्मेलन महत्वपूर्ण मञ्च भएको दावी गरे ।

प्रधानमन्त्री लीले ‘जी २०’मा चीनको विचार र अडान व्यक्त गर्ने विश्वव्यापी आर्थिक विकासका चुनौतीको आपसी सहकार्य र साझोदारीबाट सामना गर्ने विषयलाई प्राथमिकता दिने बताए ।

कोभिड–१९ महामारीबाट सुस्त प्रायः बनेको विश्वअर्थतन्त्रलाई गति दिने तथा धेरै देशहरू उच्च मुद्रास्फीति र आर्थिक अशान्तिसँग लडिरहेका बेला दक्षिण एसियामा पहिलो पटक हुन लागेको यो शिखर सम्मेलनले विशेष महत्व रहेको आर्थिक क्षेत्रका जानकारहरू बताउँछन्।

‘जी २०’ले अन्तर्राष्ट्रिय वित्तीय स्थायित्व, जलवायु परिवर्तनका दुष्प्रभाव न्यूनीकरण र दिगो विकासजस्ता विश्वव्यापी अर्थतन्त्रसँग सम्बन्धित प्रमुख विषयलाई केन्द्रमा राखेको छ ।

‘जी २०’मा अर्जेन्टिना, अस्ट्रेलिया, ब्राजिल, क्यानडा, (युरोपेली संघका सदस्य फ्रान्स, जर्मनी र इटाली) भारत, इन्डोनेसिया, जापान, दक्षिण कोरिया, मेक्सिको, रुस, साउदी अरब, दक्षिण अफ्रिका, टर्की, संयुक्त अधिराज्य र संयुक्त राज्य अमेरिका सदस्य छन् ।

सेयर गर्नुहोस्