गैरआवासीयलाई लगानी फिर्ता लैजान सीमा नलाग्ने

काठमाडौं। गैरआवासीय नेपालीलाई दोस्रोबजारमा लगानी गरेको सुरुको लगानी फिर्ता लैजान कुनै सीमा नलाग्ने भएको छ । नेपाल धितोपत्र बोर्डले एनआरएनलाई दोस्रो बजारमा लगानीका लागि बाटो खुल्ला गर्न प्रतिवेदन तयार गरेको छ ।

बोर्डले तयार गरेको अध्ययन प्रतिवेदनले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ लाई संशोधन गर्दै सो व्यवस्था गर्न राय दिएको हो।

लगानीबाट आर्जन भएको मुनाफा अथवा लाभांशको वार्षिक १० लाख नेपाली रुपैयाँ फिर्ता लैजाने व्यवस्था गरिएको छ ।

एनआरएनलाई हाइड्रोपावर ताथ अन्य वास्तविक क्षेत्रका कम्पनीमा लगानी खुलाउन सुझाएको छ। प्रतिवेदनका अनुसार एनआरएनले दोस्रो बजारमा लगानी गर्ने रकमको सीमा तोक्ने अख्तियार बोर्डलाई दिनुपर्नेछ।

राष्ट्र बैंकले पनि एनआरएनलाई सेयर बजारमा लगानी गर्न सहजीकरण गर्नुपर्ने उल्लेख गरिएको छ। संरक्षक सदस्य बैंक (कस्टोडियन मेम्बर बैंक)मा एनआरएनले अलग्गै विदेशी मुद्रा बैंक खाता खोल्ने व्यवस्था गरिदिन सुझाव दिइएको छ। बोर्डले तोकेको वाणिज्य बैंकलाई संरक्षक सदस्य बैंकको अनुमति दिन राष्ट्र बैंकसँग आग्रह गर्ने भएको छ।

खातामा विदेशी मुद्रा संचित गर्ने र कुल संचित रकमको ९० प्रतिशतसम्म नेपाली मुद्रामा कर्जा दिन राय दिएको हो। प्रतिवेदनले बोर्डले गर्नुपर्ने सहजीकरण पनि औल्याएको छ।

 

सेयर गर्नुहोस्