काठमाडौं– चिनियाँ नागरिकसँग बिहे गराइदिने बहानामा एक महिलालाई बिक्री गरिएको पाइएको छ । चीनमा महिला बिक्री गरेको आरोपमा एक जना पक्राउ परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उयपुर त्रियुगा नगरपालिका १ जोगीदहकी ३१ वर्षीया सुन्दरी राई पक्राउ परेकी हुन् । राईलाई असार ११ गते पक्राउ गरी मानव बेचबिखन तथा ओसारपसार मुद्दामा अनुसन्धान थालिएको मानव बेचबिखन ब्युरोले उल्ल्लेख गरेको छ ।
राईले फेसबुक म्यासेन्जरबाट ती महिलालाई कुराकानी गरी चिनियाँसँग काठमाडौंको ठमेलमा भेटाएकी थिइन् । ती चिनियाँले महिलालाई बिहे गरेर २०८० फागुन १० गते भिजिट भिसामा चीन लगेका थिए ।
ब्युरोका प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार ती चिनियाँले १ लाख ५० हजार रुपैयाँमा बेचबिखन गरी नेपाल फर्किएका थिए।
उनले ती महिलालाई घरमै बन्धक बनाएर शारीरिक तथा मानिस यातना दिई यौन शोषण गरेको खुलेको मिश्रले बताए।
महिलालाई चीनस्थित नेपाली राजदूतावासले असार ९ गते उद्धार गरी चीनबाट नेपाल फर्काएको थियो। घटनामा संलग्न चिनियाँ नागरिक र अन्य व्यक्तिहरूको खोजी भइरहेको ब्यूरोले जनाएको छ।