शान्ति प्रक्रिया टुंग्याउन राष्ट्र संघले सहयोग गर्ने

काठमाडौं । शान्ति प्रक्रिया टुग्याउन संयुक्त राष्ट संघले सहयोग गर्ने भएको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अन्तर्राष्ट्रिय मान्यताअनुसार शान्ति प्रक्रिया टुंग्याउन राष्ट्र संघले सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको शान्ति प्रक्रिया टुंग्याउन राष्ट्रसंघको भूमिका खोजेपछि महासचिव गुटेरेसले अन्तर्राष्ट्रिय कानुन,पीडितको भावना र अदालतको आदेशअनुसार शान्ति प्रक्रिया टुंग्याउन सहयोग गर्ने उनको भनाइ थियो ।

दाहालले नेपालको शान्ति प्रक्रिया टुंग्याउन राष्ट्रसंघको भूमिका महत्वपूर्ण हुने बताए पछि महासचिव गुटेरेसले अन्तर्राष्ट्रिय मान्यताअनुसार नेपालको शान्ति प्रक्रिया टुंग्याउन राष्ट्रसंघले सहयोग गर्ने जनाए।

उनले विश्व शान्तिस्थापनार्थ नेपालले खेलेको भूमिकाको प्रशंसा गरे। नेपालमा विगत २० वर्षमा भएका परिवर्तन र उपलब्धीहरू आश्चर्यजनक रहेको उनको भनाइ थियो । गणतन्त्र मुलुक बन्नु, शान्ति स्थापना हुनु र दिगो विकासमा नेपालले ठूलो सफलता हाँसिल गरेको उहाँको भनाइ छ ।

विश्व शान्ति, नेपालको शान्तिप्रक्रिया,जलवायु परिवर्तनलगायतका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

महासचिव गुटरेसले आजै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा,नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

भेटवार्तापछि महासचिव गुटेरेसले ऐतिहासिक एवं पुरातात्विक महत्वको सम्पदास्थल पाटन दरबार क्षेत्रको पनि अवलोकन गर्ने कार्यक्रम छ। प्रधानमन्त्री दाहालले गुटेरेसको सम्मानमा आज साँझ सांस्कृतिक सहितको रात्रिभोजको आयोजना गरेका छन्।

महासचिवसँगको भेटमा नेपालको शान्ति प्रक्रिया टुंगिने चरणमा रहेको र त्यसका लागि राष्ट्रसंघको सहयोग आवश्यक पर्ने बताएका हुन्। प्रधानमन्त्री दाहालले नेपालको राजनीतिक उचारचढाव र शान्ति प्रक्रियाको बारेमा महासचिव गुटेरेस जानकारी रहेको बताए।

प्रधानमन्त्री दाहाल र महासचिव गुटेरेसबीच प्रधानमन्त्री कार्यालयमा भेट भएको थियो। महासचिवसँगको भेटपछि प्रधानमन्त्री दाहालले नेपालको शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन राष्ट्रसंघको भूमिका महत्वपूर्ण हुने बताए ।

शान्ति प्रक्रिया टुंगो लगाउन संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदमा दर्ता भएको छ। दलहरूबीच भएको बेमेलका कारण उक्त विधेयक अगाडि बढ्न सकेको छैन।

प्रधानमन्त्री दाहालले शान्ति प्रक्रिया टुंग्याउन नेपालका राजनीतिक दलहरूसँगको छलफल तीव्र बनाएका छन्।

प्रधानमन्त्री दाहालले महासचिव गुटेरेससँगको भेटमा पछिल्लो राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति,जलवायु परिवर्तन र त्यसले पारेको असरलगायतका विषयमा छलफल भएको बताए।

प्रधानमन्त्री दाहालको निमन्त्रणमा महासचिव गुटेरेस चार दिने भ्रमणका लागि शनिबार राति काठमाडौंका आएका हुन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयु्क्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको भ्रमणबाट राष्ट्रसंघ र अन्तर्राष्ट्रिय समुदायसँग नेपालको सम्बन्ध मजबुत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

महासचिव गुटेरेससँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको औपचारिक भेटवार्तापछि सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रधानमन्त्री दाहालले अन्तर्राष्ट्रिय क्षेत्रसँग सम्बन्ध विस्तार तथा सहजीकरण गर्न भ्रमणले महत्त्वपूर्ण भूमिका खेल्ने बताएका हुन् ।

उनले सौहार्दपूर्ण वातावरणमा दुईपक्षीय हित र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्त्वका विषयमा छलफल भएको उल्लेख गर्दै मुख्यरुपमा जलवायु परिवर्तनको विषयमा गम्भीररुपमा चर्चा भएको बताए ।

सेयर गर्नुहोस्