रोजगारी अवस्था अध्ययन गर्दै ट्वीटर

काठमाडौं । सोसल मिडिया प्लाटर्फम एक्स (ट्वीटर) ले रोजगारीको अवस्थाबारे अध्ययन गर्ने भएको छ ।  उसले प्रयोगकर्ताका विभिन्न बायोमेट्रिक जानकारीसहित रोजगारी र शैक्षिक अवस्थाको सूचना पनि संकलन गर्ने भएको हो ।

पछिल्लोपटक प्लाटर्फमको गोपनीयता नीति अद्यावधिक गर्दै एक्सले सशुल्क सेवा लिएका अर्थत् प्रिमियम प्रयोगकर्ताको अकाउन्ट भेरिफिकेसनका लागि सेल्फी वा फोटोसहितको परिचयपत्र लिने तयारी गरेको छ ।

डेटा प्रयोगकर्तालाई सम्भावित रोजगारीका लागि सिफारिस गर्न वा जागिरमा आवेदन गर्दा सम्भावित रोजगारदातासँग जानकारी शेयर गर्नमा प्रयोग गरिने भएको छ ।

सोसल मिडिया प्लाटर्फम एक्सले निकट भविष्यमा एक्स प्लाटर्फमबाटै जागिर खोज्न सकिने सेवा सुरु गर्ने योजना बनाएको छ ।  सोही अनुरुप गत मे महिनामा कम्पनीले प्रविधि क्षेत्रमा जागिर खोजिदिने सेवाको रुपमा रहेको प्लाटर्फम लास्की खरिद गरेको थियो ।

एक्सले पछिल्लोपटक अद्यावधिक गरेको प्राइभेसी नीति सेप्टेम्बर २९ बाट लागू हुनेछ ।  रोजगारीको इतिहास, शैक्षिक इतिहास, रोजगारीको प्राथमिकता क्षेत्र, सीप, क्षमता, जागिरको खोजी सम्बन्धी क्रियाकलाप तथा सहभागिता लगायत व्यक्तिगत जानकारी संकलन हुने भएको हो ।

सम्भावित जागिरको सिफारिस गर्न, जागिरको लागि आवेदन गर्दा सम्भावित रोजगारदातासँग शेयर गर्न, रोजगारदातालाई उपयुक्त उम्मेदवार फेला पार्नका लागि सहयोग गर्न र बढीभन्दा बढी सान्दर्भिक विज्ञापन देखाउनमा प्रयोग हुने नयाँ नीतिमा उल्लेख छ ।

प्रयोगकर्ताका विवरण रोजगारदाताले दुरुपयोग गर्नसक्ने तथा उसका ट्वीट, रिट्वीट तथा फलो गरेका अकाउन्टहरुको आधारमा समेत जागिर दिने वा नदिने कुराको निर्णय गर्नसक्ने आँकलन गरिएको छ ।

एक्सका अनुसार प्रयोगकर्ताको अनुहारको स्क्यान वा फिंगरप्रिन्ट जस्ता बायोमेट्रिक डाटाहरु संकलन गर्ने नियम केवल एक्सका प्रिमियम प्रयोगकर्ताका लागि मात्रै लागू हुनेछ । साथै यसमा प्रयोगकर्तालाई आफ्नो थप प्रमाणीकरणका लागि सेल्फीसँगै सरकारी परिचयपत्र अपलोड गर्ने सक्छन् ।

एक्समा निकट भविष्यमै अडियो तथा भिडियो कल फिचर सुरुवात गर्ने योजना कम्पनीका मालिक एलन मस्कको छ । यो फिचर आइओएस, एन्ड्रोइडका साथै म्याक र विन्डोज कम्प्युटरमा पनि हुनेछ ।

सेयर गर्नुहोस्