सफलता प्राप्त गर्न सपना देख्नुपर्छ : जाब्बोर

काठमाडौं । एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले सपना देख्ने मान्छेले सजिलै लक्ष्य चुम्ने बताएका छन् । ‘काठमाडौं युथ कन्क्लेभ (केवाईसी) मा सहभागी युवालाई प्रेरणा र प्रोत्साहन प्रदान गदै उनले युवालाई थप सिक्ने भोक र लगनशीलता हुन सके सफलता सजिलै चुम्न सकिने बताए ।

सपना देख्ने मान्छे मात्रै सफलता हासिल गर्न सक्ने भएकाले युवाहरूले ठूला सपना देख्नुपर्ने उनले उद्घोष गरे । जाब्बोरले युवालाई प्रतिस्पर्धी बन्न, आफ्नो इच्छाअनुसार काम गर्न र त्यसलाई वास्तविकतामा परिणत गर्न कम्मर कसरे अघि बढ्न आग्रह गरे । ‘प्रतिस्पर्धाले राम्रो बनाउँछ । राम्रा प्रतिस्पर्धीहरूले तपाईंलाई अझ राम्रो बनाउँछन् ।’ उनले भने ।

उत्साही युवाहरूसँग प्रेरणादायी यात्रा, नेतृत्वका मुख्य सिद्धान्त र अनुभव बाँड्दै जाब्बोरले भने, योजनाको महत्व र लगनशीलतामा जोड दिनुपर्ने सुझाए । ‘यदि तपाईं अझ राम्रो गर्न चाहनुहुन्छ र ठूलो सफलता हासिल गर्न चाहनुहुन्छ भने तपाईंले सपना देख्न नबिर्सिनुहोस्,,’ उनले भने, ‘आफूले विश्वास गरेको कुरा सिक्ने जोस हुनुपर्छ र त्यसलाई भिजुअलाइज गर्नुपर्छ ।’

कार्यक्रममा विभिन्न विभिन्न शैक्षिक पृष्ठभूमि, समुदाय र भौगोलिक स्थानका करिब पाँच हजार युवाको सहभागिता थियो । यस वर्षको ‘केवाईसी’ संस्करणको विषय ‘इन्स्पायरिङ युथ, लिडिङ द नेसन’ थियो । १६ देखि २५ वर्ष उमेर समूहका युवा सहभागी थिए ।
कार्यक्रममा प्रख्यात नेत्ररोग विशेषज्ञ डा सन्दुक रुइत, चर्चित मास्टरसेफ सन्तोष शाह, ट्रेल रनर मीरा राई, ई–सेवाका सीईओ जगदीश खड्का, क्रिकेटर पारस खड्का र रूपेश्वर गौरा दासजस्ता प्रेरणादायी वक्ता थिए ।

युनिभर्सल कलेज र फिनिक्स कलेजको सहकार्यमा आयोजना भएको कार्यक्रम विभिन्न क्षेत्रमा उल्लेखनीय सफलता हासिल गर्न सफल व्यक्तित्वको अनुभव र ज्ञान युवामाझ बाँडेर हौसला बढाउने उद्देश्य अनुरुप सम्मेलन आयोजना गरिएको थियो ।

सेयर गर्नुहोस्