दाहालको चीन भ्रमणको तयारीबारे छलफल

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद र नेपालका लागि चिनियाँ राजदूत छन् सोङबीच प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणको तयारीबारे छलफल भएको छ ।
शनिबार सिंहदरबारमा उनीहरूबीच करिब ४५ मिनेट प्रधानमन्त्रीको भ्रमण र एजेण्डाबारे सघन छलफल भएको थियो।

अमेरिकी परियोजना एमसीसी कार्यान्वयनका लागि उपाध्यक्ष क्यामरन एस अलफोर्ड काठमाडौं आएका बेला चिनियाँ राजदूत सोङले परराष्ट्रमन्त्रीलाई भेटेका हुन्। प्रधानमन्त्री दाहाल संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर अमेरिकाको न्युयोर्कबाट सिधै चीन जानेछन्।

नेपाल र चीनबीच हुने द्विपक्षीय सहमतिका विषयमा उनीहरूबीच छलफल भएको स्रोतले जनाएको छ। प्रधानमन्त्री दाहालको भ्रमणका बेला चीनले बीआरआई परियोजना कार्यान्वयन गर्ने विषय प्राथमिकतामा राखेको छ। सोही विषयमा छलफल गर्न राजदूत सोङले परराष्ट्रमन्त्री साउदसँग भेटवार्ता गरेका हुन्।
प्रधानमन्त्रीको भ्रमणका बेला चीनले बिआरआई परियोजना कार्यान्वयनका लागि दाहालसँग ठोस कुराकानी गर्ने तयारी गरेको छ।

प्रधानमन्त्री दाहालले संसदमा बोल्दै मंगलबार चीन भ्रमणका एजेण्डाहरू प्रस्तुत गरेका थिए। उनले दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई थप उचाइमा पुर्‍याउँदै नेपालको सामाजिक आर्थिक विकासका लागि चीन(नेपाल सम्बन्धलाई नयाँ गति दिने दिशामा केन्द्रित रहने बताए।
सम्बन्धलाई थप सघन बनाउने, दुई देशबीच रहेका सीमा नाकाहरूको सञ्चालनलाई प्रभावकारी बनाउने र नयाँ नाकाहरु खोल्ने विषय प्राथमिकतामा रहने प्रधानमन्त्री दाहालले बताए । सडक, ऊर्जा, कृषि, विज्ञान तथा प्रविधि तथा व्यापार र विकास सहायता क्षेत्रमा कनेक्टिभिटी, कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रका रूपान्तरणकारी परियोजनाहरूमा चीनको सहयोग विस्तारको विषयसमेत प्राथमिकतामा पर्ने छ ।

सेयर गर्नुहोस्