श्रमिकको न्यूनतम पारिश्रमिक बढ्नु उचित होइन : महासंघ

काठमाडौं । उद्योग, व्यवसाय एवं प्रतिष्ठान तहमा काम गर्ने श्रमिकहरुका लागि न्यूनतम पारिश्रमिक निर्धारण गरिएको छ । अर्थतन्त्र मन्दीमा रहेका बेला श्रमिकहरुको पारिश्रमिकलाई दिगो बनाउन एवं उद्यम व्यवसायको विस्तारका लागि नीतिगत सुधार एवं सुविधा आवश्यक देखिएको महासंघले जनाएको छ ।

नीतिगत व्यवस्था, श्रम नियमावलीको व्यवस्था एवं विगतको अभ्यास अनुसार अभारभूत तलव तर्फ ६० प्रतिशत र मंहगी भत्तामा ४० प्रतिशत अनुपात हुने गरि मिलाउनु पर्ने भनेको छ ।

चिया कृषि प्रकृतिको विशेष उद्योग व्यवसाय भएको र चिया उत्पादनको लागतमा ७० प्रतिशत श्रमिकको ज्याला नै हुने भएकाले छिमेकी मुलुकमा कायम भएको चिया श्रमिकको पारिश्रमिकलाई समेत मध्यनजर गरि चिया वगानका लागि हाल निर्धारण भएको न्यूनतम पारिश्रमिकमा पुर्नविचार एवं संशोधन गर्नुपर्ने महासंघले जनाएको छ ।

नीति तथा कार्यक्रममा समेत व्यवस्था भए बमोजिम स्वदेशी उद्योगबाट उत्पादित वस्तुहरु विशेषगरी साना तथा घरेलु उद्योगबाट उत्पादन भएका वस्तुहरु आयातित वस्तु भन्दा २० प्रतिशत वढी मूल्य भए पनि खरीद गर्ने व्यवस्थालाई व्यवहारमै कडाईका साथ लागू गर्नुपर्ने जोड दिएको छ ।

मूल्यवृद्धिबाट राहत दिन श्रमिकहरुका लागि खाद्यान्न र अति आवश्यक उपभोग्य वस्तुका सुपथ मूल्य पसलको व्यवस्था र राशन कार्डको व्यवस्था गर्नुपर्ने जनाइएको छ । उद्योग व्यवसायको प्रकृति, भौगोलिक क्षेत्र लगायतका बिषयलाई पनि आधार मानि न्यूनतम पारिश्रमिक दर निर्धारण गर्ने व्यवस्था लागू गर्नुपर्ने, बजारको माग, प्रतिस्पर्धा र आर्थिक स्थितिको कारणले उद्योग सञ्चालनमा समस्या भएमा त्यस्तो उद्योगलाई बन्द गर्ने प्रक्रियामा सहजिकरण गर्नुपर्ने जनाइएको छ ।

सेयर गर्नुहोस्