मजदुरको पारिश्रमिक बढ्यो, निजी क्षेत्रको असन्तुष्टी

काठमाडौं । सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको छ । १५ हजारबाट बढाएर मासिक १७ हजार ३ सय पुर्‍याइएको छ ।  साउन १ गतेबाटै लागु हुने गरी श्रमिकको न्यूनतम पारिश्रमिक बढाइएको हो।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बिहीबार राजपत्रमा प्रकाशित गरी पारिश्रमिक बढेको जनाएको छ । तर, निजी क्षेत्रले बढेको तलम दिन आनाकानी गरेका छन् । नेपाल उद्योग परिसंघले बढेको तलब दिन नसक्ने घोषणा गरिसकेको छ । अन्य निजी क्षेत्रका संगठनहरुले पनि बढेको पारिश्रमिक दिन आनाकानी गर्न थालेका छन् ।

आधारभूत पारिश्रमिक १० हजार ८२० र महंगी भत्ता ६ हजार ४८० रुपैयाँ गरी १७ हजार ३०० पुर्‍याइएको मन्त्रालयले जनाएको छ । यसअघि आधारभूत पारिश्रमिक ९ हजार ३८५ र मंहगी भत्ता ५ हजार ६१५ रुपैयाँ थियो ।

दैनिक पारिश्रमिक ६६८ रुपैयाँ बनाइएको छ । यसअघि ५७७ रुपैयाँ थियो । आंशिक समय मात्र काम गर्ने कामदारले ७७ रुपैयाँ पाइरहेकोमा अब न्यूनतम पारिश्रमिक प्रतिघण्टा ९५ रुपैयाँ पाउने छन् । सरकारले २०७८ सालमा श्रमिकको पारिश्रमिक निर्धारण गरी न्यूननम पारिश्रमिक तय गर्दै आएको छ ।

चिया बगानका श्रमिकले भने मासिक पारिश्रमिक १३ हजार ८९३ रुपैयाँ मात्रै पाउने छन् । यसअघि १२ हजार ८१ रुपैयाँ पाउँथे । ४३४ रुपैयाँ दैनिक पारिश्रमिक हुने गरेकोमा अब ५ सय रुपैयाँ पुगेको छ । प्रतिघण्टा ६७ रुपैयाँ पाउँदै आएकोमा अब ६३ रुपैयाँ पुगेको छ ।

 

 

सेयर गर्नुहोस्