कोरियामा थप अवसरका ढोकाहरु खुल्दै, २५०० नेपाली पानीजहाज निर्माणमा जान सक्ने

काठमाडौं । आकर्षक गन्तव्य मुलुक मानिएको कोरियामा थप अवसरका ढोकाहरु खुल्दै छन् ।  कृषि र उत्पादन क्षेत्रमा वर्षेनी ५ हजार भन्दा बढी श्रमिक लैजाने गरेकोमा अब पानीजहाज निर्माण कम्पनीमा पनि नेपाली लैजाने संकेत गरेको छ ।

कृषि र उत्पादन क्षेत्रका लागि पास भएका ८ सय ९२ जनाको सुची पानीजहाजका लागि पठाइएको थियो । त्यसमध्ये २ सय ३८ जना कामदार छनोट भइसकेका छन् ।

अब आइतबार देखि नयाँ रोष्टरका लागि भाषा परीक्षाको आवेदन खुलेको छ । दुई हजार ५ सय जनालाई रोष्टरमा राख्न आवेदन खुलाइएको हो ।

परीक्षामा उतीर्ण भएका पानीजहाज निर्माणका लागि जान पाउने छन् । कोरियाले सन् २०२३ का लागि नेपालबाट मात्र ३ हजार कामदार यस क्षेत्रमा लैजान चाहेको छ ।

एक दिनमा चार सिफ्ट गरेर १ असोजदेखि भाषा परीक्षा हुन्छ। पहिलो चरणको भाषा परीक्षाको नतिजा प्रकाशित भएपछि सीप परीक्षणको परीक्षा हुने छ ।

भाषामा उच्च अंक प्राप्त गरेका आवेदकलाई मात्र सीप परीक्षणमा सहभागी गराइने ईपीएस कोरियाले जानकारी दिएको छ ।

स्वास्थ्य परीक्षणमा उत्तिर्ण भएपछि मात्र रोजगार आवेदन फारम भर्न सकिने जनाइएको छ। १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेका नेपाली परीक्षामा सामेल हुन पाउँछन् ।

कोरियामा गैरकानुनी गतिविधिमा भने संलग्न भएको र गैरकानुनी रुपमा कोरियामा बसेर फिर्ता पठाइएका र अन्य मुलुकमा जान प्रतिबन्ध लगाइएका व्यक्रि परीक्षामा सामेल हुन पाउँदैनन् ।

आवेदन २० साउनदेखि २४ साउनसम्म भर्न सकिने व्यवस्था गरिएको छ।

ललितपुरको भैंसेपाटीस्थित यूबीटी भवनमा हुने परीक्षामा सामेल हुन शुल्क २८ डलर तिर्नुपर्छ । सन् २०२३ को कृषि तथा पशुपालन क्षेत्रको भाषा उत्तीर्ण भई सीप परीक्षण दिई बसेका व्यक्तिले पनि यस परीक्षा दिन पाउँछन् ।

कोरियामा न्यूनतम २ लाख मासिक आम्दानी हुन्छ । पानीजहाजमा जाने श्रमिकले यस भन्दा बढी तलब पाउँछन् ।

सेयर गर्नुहोस्