काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले परितर्वनकारी शक्तिहरु मिल्नुको विकल्प नभएको बताएका छन् । साम्राज्यवादी देशहरुले युद्ध र समाजवादी देशहरुले शान्तिको नीति अख्तियार गरेको बताए ।
“विश्व एक ध्रुबबाट दुई ध्रुबमा विभाजित हुन पुगेको छ । साम्राज्यवादी शक्ति तथा देशहरुले युद्धको नीति अख्तियार गरेका छन् भने सामाजवादी देशहरु शान्तिको । परिवर्तनकारी शक्तिहरुबीच वृहत मोर्चाबन्दी आवश्यक भएको छ । अहिलेको आवश्यकता कम्युनिस्टहरुबीच एकता हो” गुरुङले भने ।
नेपाल जुछे विचार प्रतिस्ठानले सोमबार संवाद डबलीमा कोरियाको ७० औं विजय दिवसको वार्षिकोत्सवमा आयोजना गरेको कार्यक्रममा बोल्दै गुरुङले प्रजातान्त्रिक जनवादी कोरिया उत्पीडित राष्ट्रको लागि प्रेरणा बनेको बताए ।
अहिलेको विश्वको प्रमुख अन्तरविरोध उत्पीडित राष्ट्र र साम्राज्यवादबीच भएको बताउँदै गुरुङले जनतालाई सर्वेसर्वा भन्ने किम इल सुङको जुछे विचार वैज्ञानिक भएको बताए । उत्पीडित राष्ट्र र जनताले साम्राज्यवादी शक्तिहरुसँग लड्न जुछे विचार आत्मसात गर्न आवश्यक रहेको गुरुङले बताए । देश स्वाधिन र आत्मनिर्भर हुन कोरियाबाट सिक्नुपर्ने समेत उनले बताए ।
कार्यक्रममा नेपालको लागि प्रजातन्त्रिक जनगणतन्त्र कोरियाका राजदूत जो योङ मानले जनताको शक्तिकै आधारमा आफ्नो देश विजयी भएको बताए । मानले आफ्नो देश जनतासँग एकाकार भएर अगाडि बढेको बताउँदै जनताको शक्तिले नै कोरिया विदेशी हस्तक्षेबाट मुक्त भएर प्रगतिमा अगाडि बढेको बताए ।
माओवादी केन्द्रका युवा नेता रामदीप आचार्यले जनता एकजुट भए ठूला विजय प्राप्त हुने र देश आत्मनिर्भर हुन्छन् भन्ने कुरा कोरियालीबाट सिक्नुपर्ने बताए । उत्पीडित र बाह्य हस्तक्षेपबाट मुक्त हुन कोरियाली जनताको संघर्ष प्रेरणादायी भएको बताए ।