पर्यटनको प्रचुर सम्भावना

बर्दिवास । नेकपा एमालेका सचिव योगेश भट्टराईले मधेस प्रदेशमा पर्यटनको प्रचुर सम्भावना रहेको बताएका छन्। महोत्तरीको बर्दिवासस्थित नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)को निरीक्षण गर्दै पर्यटनबाट आर्थिक संमृद्धि हासिल गर्न सकिने बताए ।

पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भट्टराईले भने, ‘मधेसलाई जसरी पर्यटनको हिसाबले विकास गर्नुपर्ने थियो। त्यसरी हामी विकास गर्न सक्या छैनौं।’  ‘सांस्कृतिक हिसाबले मधेस एकदमै एडभान्स छ। अन्त नभएका सांस्कृतिक सम्पदाहरू यहाँ छन्,’ यहाँबाट आर्थिक विकास संभव छ उनले भने ।

नाथम कलेजको महत्व स्थानीय जनप्रतिनिधिहरूले पनि गम्भीरताका साथ बुझ्नुपर्नेमा उनले जोड दिए। ‘यहाँ धेरै महत्वपूर्ण कुरा आएको छ। बर्दिवासले यसलाई एउटा उपहारको रुपमा लिर्नुपर्छ,’ भट्टराईले भने। मधेस प्रदेशको टुरिजमको पाटोमा रिसर्च गर्न कलेज प्रशासनलाई उनले सुझाव दिए।

मधेस प्रदेशकै स्तरीय होटलहरुमा पनि दक्ष कर्मचारी अभाव रहेको बताउँदै उनले  नाथमबाट उत्पादन जनशक्तिको भविष्य उज्जवल रहेको उल्लेख गरे। होटेल म्यानेजमेन्टका लागि नाथम कलेज दक्षिण एसियामा मात्र नभई एसियामै उत्कृष्ट रहेको नेता भट्टराईले दाबी गरे।

निरीक्षणको क्रममा नेता भट्टराईसँगै नेकपा एमालेका मधेस प्रदेशका संसदीय दलका नेता सरोजकुमार यादव, प्रदेशसभा सदस्य शारदादेवी थापा, एमालेका मधेस प्रदेशका प्रचार विभाग प्रमुख सोमप्रसाद शर्मा, प्रदेश सचिवालय सदस्य शंकर महतोलगायत स्थानीय जनप्रतिनिधिहरु सहभागी थिए।

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान ९नाथम० बर्दिवासका प्रमुख शिवेन्द्र मल्लिकले कलेजलाई थप व्यवस्थित बनाउनका लागि पहलकदमी लिइदिन सबैलाई आग्रह गरेका थिए।

नाथम बर्दिवासमा अहिले मधेश प्रदेशका विभिन्न जिल्लाका १७ जना विद्यार्थीहरू अध्ययनरत छन्।

सेयर गर्नुहोस्