काठमाडौं । श्रमिकको ज्याला बढाउन रोजगारदाताले आनकानी गरेका छन् । सरकारले साउनदेखि श्रमिकको न्युनतम पारिश्रमिक बढाउने प्रस्ताव गरे पनि रोजगारदाताले नबढाउन लबिङ गर्न थालेका छन् ।
श्रमिकले मासिक न्युनतम २६ हजार न्युनतम पारिश्रमिक हुनुपर्नेे माग गरेका छन् । श्रमिकहरुका १० वटा महासंघको संयुक्त संगठन ‘संयुक्त ट्रेड युनियन समन्वय केन्द्र’ केन्द्र पारिश्रमिक बढाउन सरकारसँग लबिङ गरेका छन् ।
श्रमिकहरुले आधारभूत पारिश्रमिक ९ हजार ३८५ रुपैयाँ र महँगी भत्ता ५ हजार ६१५ रुपैयाँ गरी कुल कायम भएको १५ हजार रुपैयाँ पाउँछन् । त्यसमा १४दशमलव २ प्रतिशत बढाएर सामाजिक सुरक्षा कोषमा रोजगारदाताले सोही अनुसारको दायित्व बढाएर २६ हजार पाउनुपर्ने अडान लिदैँ आएका छन् ।
रोजगारदाताले महंगीलाई आधार मानेर पारिश्रमिक बढाउनुपर्नेमा जोड दिएका छन् । श्रमिकहरुले आधारभूत तलब र महँगीभत्तालाई एकै ठाउँमा राखेर पारिश्रमिक वृद्धि गर्नुपर्ने बताउँदै आएका छन् ।
२०७८ साउन १ गतेबाट लागू १५ हजार रुपैयाँ न्यूनतम पारिश्रमिक तय भएको थियो ।
श्रमिकले १० हजार थप्नुपर्ने अडान लिए पनि रोजगारदाताले एक हजार भन्दा बढी थप्न नसक्ने अडान लिदैँ आएका छन् । दुवै पक्षबीच अडान नछोडेपछि सहमति हुन नसकेको हो । सरकारले मध्यममार्गी बाटो तय गर्ने तयारी गरेको बुझिएको छ ।