पोर्चुगल । पोर्चुगलमा यस वर्ष पर्यटक आवागमनमा गिरावट आएको देखिएको छ । मौसम प्रभावित हुँदा पर्यटक आउन नसकेका हुन् ।
यस वर्ष विगतको तुलनामा जाडो छ । प्रायःजसो चिसो मौसम, बादल लागेका कारण समुद्रतिरका रेष्टुरेष्टहरु प्रभावित भएका छन् । शहरी क्षेत्रका रेष्टुरेष्ट, होटलहरु पनि सुनसान जस्तै देखिएका छन् । शहरमा पर्यटकहरु आकल, झुकल देखिन्छन् । पर्यटक आवागमनमा कमी भएपछि आर्थिक गतिविधिमा असर पुगेको छ ।
पर्यटक, विद्यार्थी तथा जुनसुकै भिसामा आएकालाई यहाँ काम गर्न सहज वातावरण थियो । सेफ लक गरेपछि उसले तिरेको करका आधारमा आवासीय कार्ड दिदैँ आएकोमा जुन ३ पछि बन्द भएको छ । नयाँ आउनेले सेफ लक गर्न नपाएपछि आप्रवासीहरु आउने क्रम रोकिएको छ । नयाँ आप्रवासी रोकिए पछि आर्थिक क्रियाकलापमा गिरावटको संकेत देखिएको छ ।
रेष्टुरेष्ट, होटल, होस्टललगायत धेरै क्षेत्रमा यसले असर गरेको छ । नयाँ आप्रवासी लक्षित ती क्षेत्रहरुको व्यापार ५० प्रतिशत भन्दा पनि घटेको अनुभव सुनाउँछन् ।
नयाँ आप्रावासी आउँदा चहलपहल हुने रेष्टुरेष्ट, होस्टलहरु अचेल सुनसान जस्तै भएका छन् । आर्थिक क्रियाकलाप रोकिए पछि न्यूनतम खर्च धान्न नै मुश्किल पर्न थालेको व्यवसायीहरु बताउँछन् । यस्तो क्रम निरन्तर हुँदै गएपछि घर भाडा, स्टाफ खर्च धान्न नै सकस पर्न सक्ने व्यवसायीहरु चिन्ता गर्न थालेका छन् ।
पोर्चुगलको कार्ड पाउन ४ लाख १० हजार जना प्रतिक्षामा छन् । ती व्यक्तिको प्रक्रिया पूरा भएपछि मात्रै सरकारले नयाँ आप्रवासीबारे सोच्ने जनाएको छ ।
आप्रवासीको ओइरो लागेपछि यहाँ आएका सबैले सजिलै रोजगारी पाउन सकेका थिएनन् । रोजगारदाताले छानीछानी श्रमिक राख्न पाएका थिए । अब नयाँ आउन नपाएपछि पूरानैलाई पनि टिकाउन मुश्किल पर्ने देखिएको छ ।
पोर्चुगलले सिधैं श्रमिक ल्याउने तयारी समेत गरेको छ । यहाँका कम्पनीमार्फत श्रमिक ल्याउन सक्ने व्यवस्था गर्न लागिएको बुझिएको छ । तर, यहाँका कम्पनीहरु उच्च गुणस्तरका छैनन् ।
तर, स्तर वृद्धि गरेर, न्यूनतम मापदण्ड बनाएर सरकारले सिधैं श्रमिक ल्याउने व्यवस्था गर्न सक्छ । अहिले कृषि कम्पनीहरुले प्रत्यक्ष श्रमिक ल्याइरहेका छन् । तर, धेरै जसो कम्पनीले डाइरेक्ट श्रमिक ल्याउन झन्झट गर्नुभन्दा यहीँ उपलब्ध श्रमिकलाई काममा लगाउँदै आएका छन् ।
अब कृषि कम्पनी मात्र नभई रेष्टुरेन्ट, निर्माण कम्पनी लगायत सबैले आफ्नो स्तरअनुसार विदेशबाट श्रमिक ल्याउन सक्ने व्यवस्था गर्न लागिएको बुझिएको छ ।
पोर्चुगल सरकारले यहाँ सेफ लक गर्न बन्देज लगाए पनि स्रोतमुलुकबाट श्रमिक ल्याउन सक्ने व्यवस्था खुला नै गरेको छ । त्यसलाई व्यवस्थित गर्न थप मापदण्ड ल्याउन सक्छ ।
स्रोतमुलुकसँग सम्झौता गरेर श्रमिक आउन सक्ने देखिएको छ । त्यसका लागि यहाँका कम्पनीको स्तर पनि वृद्धि हुन जरुरी छ । निश्चित मापदण्ड बनाएर श्रमिक ल्याउने व्यवस्था बनाउन सक्छ । अथवा पूरानै अवस्थामा फर्काउन सक्छ ।
पोर्चुगल आप्रवासीले धानिएको देश हो । १० लाख आप्रवासी यहाँ काम गर्छन् । यहाँ आएर व्यापार, व्यवसाय गर्नेहरु पनि बढेका छन् । नेपाली, भारतीय, बंगलादेशी, अफ्रिकन, चाइनिज, पाकिस्तानीले लगानी वृद्धि गरेका छन् ।