बढ्दै रेमिट्यान्स मासिक एक खर्ब

काठमाडौं । नेपालमा मासिक १ खर्ब २० अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिरहेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

राष्ट्र बैंकका अनुसार माघसम्म ८ खर्ब ३९ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । यो तथ्यांक अनुसार मासिक १ खर्ब १९ अर्ब ८५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिरहेको छ । अघिल्लो आर्थिक वर्षमा औसत १०१ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । यो वर्ष रेमिट्यान्स बढेको छ ।

७ महिनाको तथ्यांक तुलना गर्दा २०७९ माघको तुलनामा माघ २०८० मा २१।६ प्रतिशतले रेमिट्यान्स बढी भित्रिएको हो । वृद्धिदर भने अघिल्लो वर्षको तुलनामा खुम्चिएको पाइएको छ ।

अघिल्लो वर्ष माघ महिनामा २७.१ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा समेत विप्रेषण आप्रवाह १९.१ प्रतिशतले वृद्धि भई ६ अर्ब ३१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६।४ प्रतिशतले मात्र बढेको थियो ।

यस वर्ष माघसम्म नयाँ श्रम स्वीकृति लिनेको संख्या २ लाख ४७ हजार १२ जना रहेको छ । यो गत वर्षको तुलनामा कम हो । गत वर्ष यसै अवधिमा ३ लाख १४ हजार ७६७ जनाले नयाँ श्रम स्वीकृति लिएका थिए ।

यस वर्ष पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ५८ हजार ५४० जना रहेको छ । अघिल्लो वर्ष यो संख्या १ लाख ६७ हजार ७०८ रहेको थियो ।त

सेयर गर्नुहोस्