पोर्चुगल रोजगारी : आउने भन्दा जाने धेरै

लिस्बन । पोर्चुगल धेरै मानिसका लागि सपनाको देश हो । यहाँ आउने कार्ड बनाउने, नागरिकता लिने र पासपोर्ट बनाउने सपना धेरैको हुन्छ ।

नेपालसहित एसियन मुलुकबाट पोर्चुगल दैनिक दुई हजार आप्रवासी भित्रिरहेका छन् । पोर्चुगलले सिधैँ भिसा दिदैँन । कृषिका केही कम्पनीमा भिसा दिए पनि झन्झट छ । यसैको चक्करमा लागेर धेरै नेपाली मानव तस्करको फन्दामा परेका छन् ।

पोर्चुगलले दुई वर्ष आसपासमा अस्थायी बसोबास कार्ड दिन्छ । जुनसुकै देशबाट आएका आप्रवासीलाई यहाँको नियमानुसार राहदानी दिन्छ ।
यहाँको राहदानी शक्तिशाली छ । यहाँबाट धेरै देशमा सहजै यात्रा गर्न सकिन्छ ।

यसैको लोभमा नेपालीसहित धेरै एसियन मुलुकका मानिसहरु पोर्चुगल आउने गर्छन् । कार्ड पाएको ५ वर्षपछि नागरिकता र राहदानी पाइन्छ ।
पोर्चुगलमा न्यूनतम पारिश्रमिक निकै कम छ । यहाँ जनवरीबाट ८ सय २० यूरो पुगेको छ ।

यहाँ पनि उद्योगधन्दा पर्याप्त मात्रामा नहुँदा रोजगारीमा अस्वस्थ प्रतिष्पर्धा छ । रोजगारदाताले छानीछानी श्रमिक राख्न पाउने अवस्था छ ।

आप्रवासीको संख्याको अनुपातमा यहाँ रोजगारी सिर्जना हुन सकेको छैन । जसले गर्दा महिनौंसम्म बेरोजगार बस्नुपर्ने वाध्यता सिर्जना हुन्छ ।
यहाँको कार्ड पाइने सपनाले नेपाली सहित एसिएनका अधिकांश मुलुकबाट पोर्चुगल आउनेको ओइरो लागेको छ ।

तर, पोर्चुगलका नागरिक भने यहाँको पारिश्रमिक न्यून हुने हुँदा अन्य देशमा जाने गर्छन् । यहाँका ३० प्रतिशत भन्दा बढी युवाहरु कामकै लागि विदेशिने गरेका छन् ।

पोर्चुगलमा १५ देखि ३९ वर्षको उमेरमा जन्मेका ८ लाख ५० हजार भन्दा बढी व्यक्तिहरूले देश बाहिर काम गर्न र बस्न गएका छन् ।

१५ देखि ३९ वर्षको उमेरका करिब ३० प्रतिशत पोर्चुगाली नागरिक अन्य देशमा कामकै लागि बसाइ सनेृ गरेको इमिग्रेशन अब्जर्भेटरीको तथ्याङ्कले देखाएको छ ।

पोर्चुगल युरोपमा सबैभन्दा बढी आप्रवासी दर भएको देश हो तर पोर्चुगलका २३ लाख पोर्चुगीज विदेशमा बस्ने गरेका छन् । तर, यहाँ आप्रवासी नागरिक भने १० लाखको हारहारीमा मात्र रहेको पाइएको छ ।

सेयर गर्नुहोस्