काठमाडौं । वैदेशिक रोजगार क्षेत्रमा ठगी बढेको छ । आकर्षक देशमा पठाइ दिने बाहनामा सर्वसाधारणको लाखौं रकम ठगी गर्ने गरिएको जनाइएको छ ।
मौसमी भिसामा दक्षिण कोरिया कामदार लैजाने भन्दै गिरोह सक्रिय भएको छ। कोरिया लैजाने भन्दै गाउँगाउँ पुगेर करोडौं रुपैयाँ उठाउँदै आएको पाइएको छ। पछिल्लो समय सिजनल भिसामा दक्षिण कोरिया लैजाने भन्दै त्यस्ता गिरोहहरूले रकम उठाउँदै आएको स्रोतको दावी छ ।
सिजनल भिसामा दक्षिण कोरिया पठाउने भन्दै गाउँगाउँ पुगेर रकम उठाएको मन्त्रालयका उच्च अधिकारीहरू बताउँछन् । तर, ठगिएकाहरूले कहीँकतै उजुरी दिएका छैनन्। मानव तस्करका कतिपय गिरोहसँग मन्त्रालयका अधिकारीहरूको संलग्नतासमेत रहेको स्रोतको दाबी छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मौसमी भिसामा (सिजनल भिसा) कामदार पठाउने सम्बन्धमा हालसम्म नेपाल सरकार र कोरियाली सरकारबीच कुनै पनि सम्झौता नभएको स्पष्ट पारेको छ।
मन्त्रालयका सहसचिव तथा प्रवक्ता डण्डुराज घिमिरेले विज्ञप्ति जारी गर्दै मौसमी कामदार पठाउने सम्बन्धमा दुई देशबीच कुनै सम्झौता नभएको बताएका छन् ।
मन्त्रालयले मौसमी कामदार पठाउने सम्बन्धमा दुई देशबीच कुनै समझदारी नभएको र यसअघि सार्वजनिक भएको प्रेस विज्ञप्ति नक्कली भएको जनाएको छ ।
मौसमी कामदार पठाउनेसम्बन्धी व्यवस्था मौसमी कामदार व्यवस्थापन निर्देशिका २०७९ बमोजिम हुने उल्लेख छ। मन्त्रालयको नाममा नक्कली विज्ञप्ति निकाल्नेमाथि अनुसन्धान तथा कारबाही हुने छ।
मन्त्रालयले आधिकारिक निकायको अनुमतिबिना सामाजिक सञ्जालमा वैदेशिक रोजगारसम्बन्धी कुनै पनि विषयमा प्रचारप्रसार गरी सर्वसाधारणमा भ्रम सिर्जना नगर्नसमेत आग्रह गरेको छ। यकिन गरेरमात्र वैदेशिक रोजगारीको प्रक्रिया थालनी गर्न मन्त्रालयले भनेको छ।
केही साताअघि नेपालका लागि कोरियाली राजदूत पार्क थेयङ्ले नेपालबाट मौसमी कामदार लैजानेबारे कुनै सम्झौता नभएको बताएका थिए। राजदूत थेयङ्ले नेपालबाट मौसमी कामदारको रूपमा जनशक्ति दक्षिण कोरिया लगेपनि उनीहरू नफर्किएपछि त्यस्ता कामदार लैजान छाडेको बताएका थिए।
दक्षिण कोरियामात्र होइन, गिरोहले युरोप, अमेरिकाजस्ता देशमा पनि सिजनल भिसामा कामदार पठाइदिने भन्दै ठगी गरिरहेको स्रोतको भनाइ छ। उनीहरूले सोझासाझा नागरिकलाई प्रलोभनमा पारेर युरोप, अमेरिकाजस्ता देशका लागि लाखौं रकम लिइरहेका छन्।