स्वघोषणा गरी सामान लैजान पाइने

काठमाडौं । विदेशबाट आउने यात्रुका लागि मालवस्तुको स्वघोषणा कक्ष सञ्चालनमा आएको छ ।

यात्रुले मापदण्डभन्दा बढी सुन गरगहना विदेशी मुद्रा, टिभी तथा मोबाइल फोन ल्याउने गरेका थिए । तर, स्वघोषणाको व्यवस्था थिएन । । भन्सार छलीको कारबाहीको भागीदार हुनुपर्ने वाध्यता थियो ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयले स्वघोषणा कक्ष सञ्चालनमा ल्याएपछि यात्रुले आफूसँग भएको मालवस्तुको स्वयम् घोषणा गर्नुपर्छ । तर, मापदण्ड भन्दा बढी भएको सामानको भन्सार महसुल बुझाइ सजिलै लैजान पाउने छन्।

विदेशबाट आउने यात्रुले अध्यागमन कक्ष पार गरेपछि भन्सार चेकजाँच एक्सरे मेशिनमा पुग्नु अगावै स्वयम् घोषणा गर्नुपर्छ । नियमित कर्मचारीसहित स्वयम् घोषणा कक्षको व्यवस्था गरेको छ ।

यसअघि त्यस्तो कक्ष नहुँदा यात्रुहरू मापदण्डभन्दा बढी मालवस्तु लिएर जाने र भन्सार तथा प्रहरीको कारबाहीमा परी त्यस्तो मालवस्तुको दोब्बर मूल्य बराबर धरौटी र जरिवाना तथा थुनामा जानुपर्ने वाध्यता थियो ।

पछिल्लो व्यवस्था अनुसार ५० ग्रामसम्मको महिलाले सुनको गहना र २५ ग्रामसम्मको पुरुषले गहना ल्याउँदा भन्सार तिर्नुपर्दैन । गहनाको आकार मात्रै दिएर बनाइएका बेरुवा औँठी, बाला, सिक्री जस्ता रसायन प्रयोग नगरिएका सुनलाई गहनाको मान्यता नहुने कानुनी व्यवस्था छ ।

श्रम स्वीकृति लिएर लगातार ६ महिनाभन्दा बढी विदेशमा काम गरी फर्केका यात्रुहरूले आफ्नो साथमा थप एक थान मोबाइल भन्सार नतिरी ल्याउन पाउने कानुनी व्यवस्था छ । थप एक थान मोबाइलका लागि भन्सार कार्यालयमा घोषणा गरी भन्सार प्रक्रिया भने पूरा गरी ल्याउन पाइन्छ ।

श्रम स्वीकृति लिई लगातार १२ महिना काम गरी फर्कने सामाजिक सुरक्षा कोषमा सूचीकृत भएको नेपाली यात्रुले जुनसुकै आकार वा प्रकारको टेलिभिजन साथमा ल्याउन पाइन्छ । कोषमा नभएकोले ३२ इन्चसम्मको टेलिभिजन मात्र भन्सार नतिरी साथमा ल्याउन पाइन्छ। पाँच हजार अमेरिकी डलरमाथिको विदेशी मुद्रा हुने यात्रुले विमानस्थलमा स्वघोषणा गर्नु पर्दछ ।

सेयर गर्नुहोस्