सिंगापुर । सिंगापुरले लागुऔषध तस्करीमा दोषी ठहरिएका दुईजनालाई मृत्युदण्ड दिने घोषणा गरेको छ ।
सरिदेवी जामानी भनेर चिनिने ४५ वर्षीया महिला र ५६ वर्षीय पुरुषलाई फाँसी दिन लागिएको अधिकारवादी संगठन ट्रान्सफर्मेटिभ जस्टिस कलेक्टिभ (टिजेर्सी) ले जनाएको छ।
सिंगापुरले २० वर्षपछि पहिलोपटक महिलालाई झुन्ड्याएर मृत्युदण्ड दिन लागेको हो। टिजेसीका अनुसार ५० ग्राम हेरोइन तस्करी गरेको अभियोगमा दोषी ठहर भएका ती पुरुषलाई बुधबार चंगी जेलमा र ३० ग्राम हेरोइन तस्करी गरेको अभियोगमा मृत्युदण्डको सजाय सुनाइएकी जामानीलाई शुक्रबार फाँसी दिइने छ।
उनीहरुलाई सन् २०१८ मै मृत्युदण्डको सजाय सुनाइएको थियो। मृत्युदण्डको मिति निर्धारण गरिएको सूचना परिवारलाई दिइएको छ । यता मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेशनलले निर्धारित मृत्युदण्ड रोक्न आग्रह गरेको छ। लागुऔषध नियन्त्रणको नाममा मृत्युदण्ड दिने क्रम जारी राख्नु अनुचित भएको एम्नेस्टीको भनाछ छ।
विश्वका धेरै देशले मृत्युदण्डको सजाय परित्याग गरिसकेका छन् । औषधसम्बन्धी मुद्दा सम्बोधनका निम्ति उदार नीति अंगीकार गरिरहेको परिप्रेक्ष्यमा सिंगापुरले त्यसलाई मनन नगर्नु दुर्भाग्यपूर्ण भएको एम्नेस्टीले जनाएको छ । कोभिड १९ को महामारीमा दुई वर्षको अन्तरालपछि सरकारले फाँसीको सजाय पुनःकार्यान्वयन गरेको हो । त्यसयता १३ जनालाई फाँसी दिइएको जनाइएको छ ।