काठमाडौं । परम्परागत कृषि प्रणालीबाट विस्तारै आधुनिक कृषि प्रणाली विकास हुन थालेको छ । हलो, जुवा, आली जस्ता परम्परागत औजारका सट्टा आधुनिक औजार प्रयोग हुन थालेपछि कृषिको उत्पादकत्व बढ्दै गएको छ । कृषिमा लाग्ने लागत पनि घट्दै गएको छ ।
पछिल्लो समयमा कृषिमा यान्त्रिकरण भित्रिन थालेसँगै कृषिमा आश्रिात जनसंख्या घट्दै गएको छ । आधुनिक कृषि औजारले खेत जोत्नका लागि गोरु पाल्नुपर्ने धारणा विस्तारै हटन् थालेको छ । त्यसको प्रतिष्थापनमा ट्याक्टर लगायतका उच्च खालका प्रविधि आइसकेका छन् ।
धान, मकै छर्न गोरु अनिवार्य पाल्नुपर्ने वाध्यता अब बिस्तारै हटेको छ । कृषिमा औजारहरु बढ्दै गएपछि कृषिमा लाग्ने श्रम घट्दै गइरहेको छ । अर्कोतिर उत्पादन वृद्धि भइरहेको छ ।
गाउँगाउँमा हाते ट्याक्टर पुगेको छ । रोल्पाको माडी गाउँपालिका ५ का नरजित पुन विगत ५ वर्षदेखि ट्याक्टर लगायतबाट खेती गर्दै आएका छन् । उनको खेती निर्वाहमुखी मात्र नभई व्यवसायिकरण हुँदै आएको छ । उनले मौसमी तरकारी तथा फलफूल खेती गरेर बजारसम्म बिक्री गर्न लैजान्छन् ।
वर्षेनी ५ लाख श्रमबजारमा आउँछन् । त्यसमध्ये एक चौथाइ मात्रै नेपालमा अडिन्छन् । अरु बसै वैदेशिक रोजगारीमा जान वाध्य छन् । वैदेशिक रोजगारीका कारण खेत बाँझो बन्न पुगेको छ । तर, धेरैजसो स्थानमा औजार पुगेसँगै कृषिमा सहजाता आइरहेको छ ।
सरकारी तथ्यांक अनुसार २०६८ सालमा ८ लाख ४५ हजार मानिसले कृषिका ट्याक्टरको प्रयोग गरेका थिए । त्यतिबेला देशभर ३७ हजारको संख्यामा ट्यांक्टरहरु थिए । सातौ कृषि गणना अनुसार २०७८ सालमा ट्याक्टर प्रयोग गर्ने कृषकको संख्या १६ लाख ३९ हजार पुग्यो भने देशभर प्रयोगमा रहेको ट्यांक्टरको संख्या पनि ५८ हजार नाघेको छ ।
ट्याक्टरलगायत कृषि औजार प्रयोग हुन थालेपछि गोरु पाल्ने संस्कार हटिसकेको छ । परम्परागत हलो, जुवा लगायतका साधान पनि विस्थापित हुन थालेका छन् ।
२०६८ सालमा नेपालका १० लाख ७३ हजार कृषक परिवारले फलामे हलोको प्रयोग गर्थे । उनीहरुसाग ८ लाख ५६ हजार फलामे हलो थिए । तर, २०७८ मा आइपुग्दा फलामे हलो प्रयोग गर्ने किसान परिवार संख्या ७ लाख ३ हजारमा झरेको छ ।